काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आठौँ विशेष साधारण सभा मार्फत सञ्चालक समितिलाई नयाँ स्वरूप दिएको छ ।
बैंकले सर्वसाधारण शेयर धनीका तर्फबाट तीन जना र संस्थापक सेयर धनीका तर्फबाट एक जना गरी चार जना सञ्चालक निर्वाचित गरेको हो । बैंकले नयाँ सञ्चालक समितिमा बैङ्किङ, वित्तीय क्षेत्र, उद्योग व्यवसाय, आर्थिक नीति तथा अन्तर्राष्ट्रिय विकास क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरू समेटिएको जनाएको छ ।
वि.सं. २०६४ साल वैशाख ७ गते मुलुकको २०औं वाणिज्य बैंकका रूपमा सञ्चालनमा आएको सिटिजन्स बैंकले पछिल्ला वर्षहरूमा शाखा विस्तार, डिजिटल सेवा र व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ । बैंकले सर्वसाधारणलाई शेयर जारी गरेपछि नियमित रूपमा लाभांश वितरण गर्दै आएको छ । यही बिचमा सम्पन्न विशेष साधारण सभाले बैंकको आगामी रणनीतिक नेतृत्वका लागि नयाँ सञ्चालकहरू चयन गरेको हो ।
बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे रहेका छन् । उद्योग व्यवसाय क्षेत्रमा सक्रिय पाण्डे नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत हुन् । इन्जिनियरिङ पृष्ठभूमि भएका उनी औषधि उत्पादन तथा सिमेन्ट उद्योगसँग दुई दशक भन्दा बढी समयदेखि आबद्ध छन् । निजी क्षेत्रको अनुभवलाई बैङ्किङ क्षेत्रसँग जोड्ने उद्देश्यले उनी नेतृत्व तहमा पुगेका हुन ।
सञ्चालक समितिका सदस्य प्रकाशचन्द्र मैनाली बैङ्किङ र उत्पादनमूलक व्यवसाय दुवै क्षेत्रमा अनुभव भएका व्यक्ति हुन् । उनले एक संयुक्त लगानीको वाणिज्य बैंकमा लामो समय काम गरेका छन् भने सेवा क्षेत्र र कुखुरा व्यवसायमा समेत संलग्न छन् । त्यस्तै, सञ्चालक दिग्विजय विष्ट पूँजीबजार र वित्तीय क्षेत्रसँग जोडिएका व्यवसायीका रूपमा परिचित छन् । अमेरिकाको मियामी युनिभर्सिटीबाट एमबिए गरेका विष्टले करिब २५ वर्षदेखि विभिन्न व्यावसायिक क्षेत्रमा काम गर्दै आएका छन् ।

सञ्चालक समितिमा बैङ्किङ क्षेत्रका अनुभवी नामका रूपमा अनिल ज्ञवाली पनि रहेका छन् । उनले करिब साढे तीन दशक बैङ्किङ क्षेत्रमा बिताएका छन् । विभिन्न वाणिज्य बैंकमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका ज्ञवाली नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित दुई ठुला वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । शाखा विस्तार, जोखिम व्यवस्थापन र संस्थागत नेतृत्वमा उनको अनुभवलाई बैंकले उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।
बैंकको सञ्चालक समितिमा पूर्व केन्द्रीय बैंकर डा. विनोद आत्रेय पनि रहेका छन् । उनले नेपाल राष्ट्र बैंकमा ४० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । मानव संसाधन व्यवस्थापन, रणनीतिक योजना, तालिम तथा विकास र लघुवित्त सञ्चालनका क्षेत्रमा उनले काम गरेका छन् । राष्ट्र बैंकबाट बाहिरिएपछि पनि विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा संलग्न हुँदै संस्थागत सुधार र पुनर्संरचनासम्बन्धी काम गरेको अनुभव उनीसँग छ ।
विशेष साधारण सभाबाट सर्वसाधारण सेयर धनीको तर्फबाट निर्वाचित हीमा देवी खड्का केसी अन्तर्राष्ट्रिय विकास क्षेत्रमा लामो अनुभव भएकी व्यक्तित्व हुन् । उनले युएनडिपी, आईएलओ, जीआईजेड र अक्सफामजस्ता अन्तर्राष्ट्रिय संस्थामा २० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हालेकी छन् । नेपाल सहित यमन, अफगानिस्तान, तान्जानिया, नाइजेरिया, ताजिकिस्तान, लाओस र जिम्बाब्वेमा विकास, रोजगारी प्रवद्र्धन, आर्थिक पुनरुत्थान तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गरेको अनुभव उनीसँग रहेको छ । महिला सशक्तीकरण, युवा रोजगारी र आर्थिक अवसर विस्तारका क्षेत्रमा उनले काम गरेकी छन् ।
सर्वसाधारण सेयर धनीबाटै निर्वाचित अर्का सञ्चालक डा. राजेन्द्र पण्डित अर्थशास्त्र, सार्वजनिक नीति र वित्तीय क्षेत्रका अध्येता तथा विज्ञका रूपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकमा दुई दशकभन्दा बढी समय काम गरेका छन् । मौद्रिक नीति, विदेशी मुद्रा व्यवस्थापन, आर्थिक अनुसन्धान र वित्तीय समावेशीकरणका विषयमा उनले काम गरेका छन् । सार्वजनिक नीति तथा प्रशासनमा विद्यावारिधि गरेका पण्डितले नेपाल र विदेशका विभिन्न शैक्षिक तथा अनुसन्धान संस्थासँग पनि सहकार्य गर्दै आएका छन् । अर्थ मन्त्रालयमा आर्थिक सल्लाहकार तथा बजेट तयारीसँग सम्बन्धित जिम्मेवारीमा समेत उनले काम गरेको अनुभव छ ।
बैंकको नयाँ सञ्चालक समितिलाई हेर्दा व्यवसाय, बैङ्किङ, आर्थिक नीति, अन्तर्राष्ट्रिय विकास र व्यवस्थापन क्षेत्रको मिश्रित प्रतिनिधित्व देखिएको छ । पछिल्ला वर्षहरूमा बैङ्किङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, नियामकीय दबाब र डिजिटल रूपान्तरणको चुनौतीबिच सिटिजन्स बैंकले अनुभव र विशेषज्ञतालाई प्राथमिकता दिएको छ । बैंकले यही अनुभवलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन व्यावसायिक रणनीति कार्यान्वयनमा उपयोग गर्ने अपेक्षा गरेको छ ।