काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त भएका छन् । मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको ४६९औं बैठकले मंसिर ९ गतेदेखि लागू हुनेगरी कायस्थलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
करिब १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतका रूपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजारसम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडका सञ्चालक पनि हुन् ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने र दुई लाख ५० हजार रूपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्डमार्फत ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रूपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् ।
साथै बैंकले ग्राहकहरूको स्वास्थ्य र सुविधालाई मध्यनजर गर्दै नयाँ बचत योजना ‘हेल्थ एण्ड वेल्थ बचत खाता’को पनि सुरूवात गरेको छ । बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याजदरका साथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो । यस योजनाअन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एक पटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेशन, दुई पटक दाँत र एक पटक आँखासम्बन्धी कन्सलटेशन गर्न पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS