काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स म्युचुअल फण्ड–२’ ले आफ्नो सात वर्षे निर्धारित अवधि सफलतापूर्वक पूरा गरी खारेजी प्रक्रिया सम्पन्न गरेको छ ।
कम्पनीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ५६ करोड रुपैयाँ कोष आकार रहेको उक्त योजना विसं २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएकोमा २०८३ असार २१ गते सात वर्षे अवधि पूरा गरी परिपक्व भएको थियो ।
योजनाले आफ्नो सञ्चालन अवधिभर इकाईधनीहरूलाई वार्षिक नगद लाभांश वितरण गर्दै औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको छ । योजनाको खारेजीसम्बन्धी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीहरूलाई फिर्ता गर्नुपर्ने रकम वितरण गर्ने कार्यसमेत प्रारम्भ भइसकेको क्यापिटलले जनाएको छ ।
नेपाली धितोपत्र बजारमा विभिन्न समयमा देखिएका उतारचढाव, बजार मूल्यमा आएको गिरावट तथा चुनौतीपूर्ण लगानी वातावरणका बाबजुद योजनाले निरन्तर प्रतिफल वितरण गर्न सफल हुनु व्यावसायिक लगानी व्यवस्थापन क्षमताको महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीको ठहर छ । यसअघि परिपक्व भएको ‘सिटिजन्स म्युचुअल फण्ड–१’ मार्फतसमेत क्यापिटलले औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको थियो ।
सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापनमार्फत लगानीकर्ताहरूलाई राम्रो प्रतिफल प्रदान गर्दै व्यवस्थित तथा दीर्घकालीन लगानी संस्कृतिको विकासमा योगदान पुर्याउँदै आएको छ । हाल कम्पनीले सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना तथा सिटिजन्स सन्तुलित योजनासहित विभिन्न योजनाहरू व्यवस्थापन गरिरहेको छ ।

यसैको निरन्तरतास्वरूप कम्पनीले ‘सिटिजन्स सुपर ५०’ नामक नयाँ बन्दमुखी सामूहिक लगानी कोष योजना सञ्चालनमा ल्याउँदै छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस योजनाको इकाई निष्काशन २०८३ मङ्सिर २ गतेदेखि सुरु हुने तय गरिएको छ ।
