काठमाडौं । ५० करोड रूपैयाँको म्युचुअल फण्ड ‘सिटिजन्स सदावहार योजना’ को इकाइ बिक्रीका लागि आवेदन आउने क्रम जारी छ ।
एसआईपीसमेत गर्न सकिने प्रथम खुलामुखी यो योजनामा इकाइधनीहरूका लागि असार १३ गतेदेखि आवेदन खुला गरिएको थियो भने असार २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल हो ।
योजनाको इकाइ खरिद गर्नका लागि मेरोशेयर खातामार्फत वा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम पाँच लाख इकाइ (अर्थात् प्रतिइकाइ १० रूपैयाँको दरले न्यूनतम रकम एक हजार रूपैयाँ र अधिकतम रकम पाँच करोड रूपैयाँसम्म) खरिद आवेदन दिन सकिने प्रावधान छ । यस योजनाको वित्तीय प्रक्षेपणअनसुार औसत वार्षिक प्रतिफल १५.१०% हुने अनुमान गरिएको छ ।
सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ । सिटिजन्स क्यापिटलमा राजेन्द्रलाल श्रेष्ठ अध्यक्ष र सबिरबादे श्रेष्ठ सीईओ छन् ।
नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरूसँग प्रत्यक्ष सरोकारका कामहरू गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो । कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सहलगानी छ । काठमाडौंको डिल्लीबजारस्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय छ ।
काठमाडौंबाहिरका लगानीकर्ताहरूले पुँजी बजारमा प्रत्यक्ष रूपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयहरूबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरूलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS