काठमाडौं । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ ।
बुबा (नागरिकता अनुसार)जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो ।
गत साउनको दोस्रो साता आमा (नागरिकता अनुसार) सुशीलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिइन् । सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशीलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुगे ।
‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ शुरू गरे तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान रहेको भनेपछि नागरिकता जारी भयो’, स्रोतले भन्यो- ‘जिल्ला प्रशासन कार्यालयमा सघाउनका लागि देवुले मात्रै सोनीसँग ३० हजार रुपियाँ लिएको रैछ, थप अन्य कर्मचारीले पनि मोटो रकम लिएकै हो ।’
नागरिकता जारी भइसकेपछि बुबा र आमा भनिएका वीरेन्द्र र सुशीलाबीच सोनीसँग लिइएको पैसाको बाँडफाँट गर्ने विषयमा खटपट शुरू भयो । वीरेन्द्रले सुशीलासँग दोस्रो विवाह गरेका छन् भने हाल दुवै जना अलगअलग नै बस्ने गर्छन् । बाँडफाँट नमिलेपछि वीरेन्द्रले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको स्रोतले बतायो ।
जिल्ला प्रशासन कार्यालयमा निवेदन आइसकेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिफारिस गर्ने वडा अध्यक्ष सिकेन्द्र साह र वडा सचिव, वीरेन्द्र, सुशीला र सोनीलाई झिकाएर सो नागरिकता जफत गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS