काठमाडौं । सिभिल बैंकले मङ्सिर २४ गतेदेखि ऋणपत्रको निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नामक ऋणपत्र सर्वसाधारणहरुकोे लागि बिक्री खुल्ला गरेको हो ।
बैंकले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये १२ लाख कित्ता डिबेन्चर सर्वसाधारण सार्वजनिक निष्काशनबाट बिक्री गरिने र १८ लाख कित्ता डिबेन्चर विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
१०.२५ प्रतिशत रहेको सिभिल बैंक डिबेन्चरको अवधि १० वर्ष रहेको छ । उक्त ब्याजदर बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर रहेको बैंकले बताएको छ ।
यससँगै सर्वसाधारणहरुले कम्तिमा २५ कित्तादेखि अधिकतम १२ लाखकित्ता सम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । इच्छुकले मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पुस ९ गते बन्द हुनेछ । सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
बैंकले निष्काशन गर्न लागेको डिवेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिबेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको कम्पनीले जनाएको छ । यसका साथै अन्य धेरै डिबेन्चरहरु भन्दा फरक यस सिभिल बैंक डिवेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ । सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५ प्रतिशत डिबेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS