काठमाडौँ नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्स्टिच्युट अफ इन्जिनियरिङ(आइओई), थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक ‘मोबिलिटी संवाद’को नवौँ श्रृङ्खला सम्पन्न गरेको छ ।
क्याम्पस प्रमुख डा. खेम ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय ‘कम्प्लिटली नक्ड डाउन भेहिकल एसेम्बली: अवसर, चुनौती र अगाडिको बाटो’रहेको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख डा. ज्ञवालीले लामो समयपछि उद्योग र शैक्षिक क्षेत्रबीचको सहकार्यमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे ।उनले यस्ता संवादहरू व्यवहारिक सिकाइ, अनुसन्धान र उद्योगसँगको सहकार्य विस्तारका लागि अपरिहार्य रहेको उल्लेख गर्दै आयोजक नाइमा र अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स इनोभेटिभ नेक्सस(आमेसिन) लाई धन्यवाद दिए ।
करिब २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा प्राविधिक प्रस्तुति र प्यानल छलफल समेत आयोजना गरिएको थियो। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा र थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लक्ष्मण पालिखेल सहभागी थिए । छलफलका क्रममा वक्ताहरूले दक्ष जनशक्ति विकास, प्रविधि स्थानान्तरण र नीतिगत स्थायित्वबिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए ।
कार्यक्रममा नाइमाका सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले ‘सीकेडी भेहिकल एसेम्बली’लाई ‘मेक इन नेपाल’ नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलको रूपमा प्रस्तुत गरे ।

उनले यसले युवा रोजगारी सिर्जना र स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिँदै १०औँ श्रृङ्खला पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको जानकारी दिए ।




FACEBOOK COMMENTS