काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका दश वटै निर्वाचन क्षेत्रमा अग्रता लिँदै ‘क्लीन स्वीप’ को बाटोमा अघि बढेको छ । प्रारम्भिक मतगणनामा रास्वपाका १० जना उम्मेदवार नै प्रतिस्पर्धीहरुभन्दा फराकिलो अन्तरालले अगाडि छन् ।
अघिल्लो आम निर्वाचनमा रास्वपाले काठमाडौंका ४ सिटमा जित हासिल गरेको थियो । ती क्षेत्रहरुका साथसाथै अन्य ६ क्षेत्रमा पनि रास्वपा यसपटक जितको यात्रामा देखिन्छ । काठमाडौं ३ मा उज्यालो नेपालका कुलमान घिसिङले रास्वपाका राजु पाण्डेलाई पछ्याइरहेका छन् । बाँकी ९ क्षेत्रमा भने निकट अन्य दलहरु रास्वपाको निकट प्रतिस्पर्धामा समेत छैनन् ।
काठमाडौं ५ मा एमालेका हस्ति नेता ईश्वर पोखरेल प्रारम्भिक अपडेटमा तेस्रो स्थानमा छन् । रास्वपाका युवा सस्मित पोखरेलले फराकिलो अग्रता लिँदा कांग्रेसका प्रदीप पौडेल दोस्रो स्थानमा रहेका छन् ।
काठमाडौं १ मा रञ्जु दर्शना, २ मा सुनिल लम्साल, ४ मा पुकार बमले प्रतिस्पर्धीहरुलाई पछि पार्दै जितको यात्रामा अघि बढेका छन् । यस्तै, काठमाडौं ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली र ८ बाट बिराजभक्त श्रेष्ठले दोस्रोपटक जित हासिल गर्ने निश्चित प्राय देखिएको छ ।
उनीहरु अघिल्लो आमनिर्वाचनमा पनि विजयी भएका थिए । काठमाडौं ९ बाट रास्वपाका उपसभापति डीपी अर्याल र १० बाट प्रदीप विष्ट पनि प्रतिस्पर्धीभन्दा अगाडि छन् ।

FACEBOOK COMMENTS