काठमाडाैं । आगामी अक्टोबरमा ओमानमा हुने एसीसी पुरुष टी–२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनोट प्रतियोगितालाई लक्ष्य गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प सुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणका लागि क्याम्पमा बोलाएको छ।
क्लोज क्याम्पमा सहभागी खेलाडीहरूले नियमित अभ्यास सुरु गरेका छन् । प्रशिक्षक र व्यवस्थापन टोलीको निगरानीमा प्रशिक्षण भइरहेको क्याम्पबाट उत्कृष्ट १४ खेलाडी छनोट गरिनेछ, जसले नेपाललाई छनोट प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन् ।
एसीसी पुरुष टी–२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुनेछ। नेपाल समुह ‘बी’ मा परेको छ, जसमा जापान र कुवेतसमेत रहेका छन्। तीन राष्ट्र सम्मिलित समूहमा नेपालले शीर्ष स्थान हासिल गर्दै अन्तिम चरणतर्फ अघि बढ्ने लक्ष्य राखेको छ।
क्लोज क्याम्पमा रोहितकुमार पौडेल, आसिफ सेख, आरिफ सेख, रिजन ढकाल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, लोकेस बम, नन्दन यादव, सन्दीप लामिछाने, कुशल मल्ल, गुलशन कुमार झा, युवराज खत्री, रुपेश कुमार सिंह, विवेक कुमार यादव, शेर मल्ल, किरण ठगुन्ना, आदील अन्सारी, सुभ कंसकार, भीम सार्की, करण केसी, प्रतिस जीसी, बसिर अहमद, सागर ढकाल, पवन सर्राफ, अर्जन घर्ति, सोमपाल कामी, ललित नारायण राजवंशी, साहब आलम, आकाश चन्द, सन्दीप जोरा र कमल सिंह ऐरी खेलाडीहरू सहभागी छन् ।
नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीको तयारीलाई व्यवस्थित र सशक्त बनाउन क्लोज क्याम्पमार्फत उच्चस्तरीय प्रशिक्षण दिने योजना बनाएको छ। खेलाडीहरूको प्रदर्शन, फिटनेस र रणनीतिक बुझाइका आधारमा अन्तिम टोली चयन गरिने संघले जनाएको छ।
नेपालले यस पटकको छनोटमा राम्रो प्रदर्शन गर्दै आगामी टी–२० विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS