नयाँ दिल्ली । उत्तर भारतमा शीतलहरसँगै बाक्लो कुहिरोले जनजीवन प्रभावित भएको छ। यसले गर्दा सयौं उडान र रेलसेवा अवरुद्ध भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, शीतलहरका कारण उत्तर भारतका विभिन्न क्षेत्रका यात्रु तथा मालगाडीका सेवा ढिलो भइरहेको छ।
शनिबार बिहान दिल्ली एनसीआर क्षेत्रमा भिजिबिलिटी लगभग शून्य रहेको र तापक्रम थप घटेको जनाइएको छ। दिल्ली, नोएडा, गाजियाबाद, गुरुग्राम, उत्तर प्रदेश तथा हरियाणाका धेरै क्षेत्र बाक्लो कुहिरोको चपेटामा परेका छन्।
दिल्ली एयरपोर्टमा शनिबार दर्जनौं उडान रद्द भएका छन्। इन्डिगो एयरलाइन्सले सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ। दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडले ट्वीटरमार्फत यात्रुहरूलाई आफ्ना एयरलाइन्ससँग सम्पर्क गरेर उडानसम्बन्धी जानकारी लिन सल्लाह दिएको छ।
इन्डिगोले शुक्रबार राति नै आफ्नो उडानहरू प्रभावित भएको घोषणा गरेको थियो। एयरलाइन्सले सेवा सामान्य हुन समय लाग्ने बताएको छ। शुक्रबार मात्रै बाक्लो कुहिरोले ४०० उडानमा असर गरेको थियो।
भारतीय मौसम विज्ञान केन्द्रका अनुसार, शनिबार बिहान दिल्लीको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिएको छ। वायुको गुणस्तर अत्यन्त खराबू श्रेणीमा पुगेको छ। पछिल्लो २४ घण्टामा दिल्लीको एक्यूआई ३७१ रहेको रिपोर्टमा उल्लेख छ।
लखनउमा तापक्रम ११.४ डिग्री सेल्सियस मापन गरिएको छ भने मध्य हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
FACEBOOK COMMENTS