काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बंगलादेशबाट लाखौं पर्यटक भित्र्याउनका लागि वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै परिसंघले सरकारसँग यस्तो आग्रह गरेको हो ।
पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आवश्यक पहलकदमी लिनुपर्ने मागसहित आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डय्यनमन्त्री प्रेम आलेलाई भेट्न मन्त्रालयमा पुगेका परिसंघको प्रतिनिधिमण्डलले बंगलादेशबाट लाखौंको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने भन्दै त्यसका लागि वातावरण निर्माण गरिदिन पर्यटनमन्त्रीसमक्ष आग्रह गरेको हो ।
बंगलादेशबाट पर्यटक ल्याउने सन्दर्भमा दुईपक्षीय सम्झौता गरेर अघि बढ्न पनि परिसंघले सरकारलाई आग्रह गरेको छ ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अतिप्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सरकारले काम गर्नुपर्नेमा जोड दिँदै कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोज समेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरे ।
अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरोत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS