काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरी अर्थतन्त्रका विषयमा छलफल गरेका छन् ।
परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार गएको प्रतिनिधिमण्डलले आर्थिक वृद्धिको लक्ष्य भेटाउन मौद्रिक नीति खुकुलो बनाउन प्रस्ताव राखेका छन् ।
नेपाल राष्ट्र बैंकले साउनमा ल्याउने मौद्रिक नीति खुकुलो बने सरकारले बजेटमार्फत राखेको ६ वर्षको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने र समस्याग्रस्त अर्थतन्त्रमा समेत सुधार हुने सुझाब दिएका हुन् । अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरण बनाउन आग्रह गरेका छन् ।
बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आग्रह गरेका छन् । साथै, हाल एफपिओ, मर्जर तथा एक्विजिसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ता हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत हुन आग्रह गरेका छन् ।
स्वदेशी उत्पादनको प्रवद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री दाहालले आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्षरुपमा नीतिगत तथा व्यवहारिक सुझावहरु प्राप्त भइरहेको बताए । मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
FACEBOOK COMMENTS