काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपालको विद्यमान अर्थतन्त्र सुधार हुनु नसक्नु आन्तरिक कारण भएको बताएको छ ।
संघको २१औँ वार्षिक साधारण सभामा अध्यक्ष राजेश कुमार अग्रवालले बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसकेको भन्दै आन्तरिक कारण नै प्रमुख भएको बताएका हुन् ।
‘विदेशी विनिमय सञ्चितीको हिसाबले बाह्य क्षेत्र राम्रो स्थितिमा छ । भुक्तानी सन्तुलन र चालु खाता समेत बचतमा छ । हालको विदेशी विनिमय सञ्चिति आठ वर्ष यताकै उच्च हो,’ उनले भने, ‘बाह्य क्षेत्र राम्रो भए पनि आन्तरिक अर्थतन्त्रमा अझै पनि अपेक्षित सुधार आउन नसक्नु बाह्य कारण मात्रै थिएन र होइन, आन्तरिक नै प्रमुख कारण हो भन्ने पुष्टि गर्दछ ।’
बैंक तथा वित्तीय संस्थाहरूमा अर्बौं रूपैयाँ लगानी योग्य रकम रहेको तर, लगानी हुन नसकिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै उनले बैंकहरूमा पैसा थुप्रिने, लगानी गर्न नसक्ने अवस्थाको अन्त्य अपरिहार्य रहेको बताएका छन् । ‘समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी व्यवसायीहरू निकै अप्ठ्यारो अवस्थामा छन् । कतिपय उद्योग व्यवसायहरू बन्द भइसकेका छन् भने कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् । यस्तो असरबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगहरू प्रभावित भइरहेका छन् । साथै ठूला उद्योगहरूमा समेत यसको असर परेको छ । हाल समग्रमा उत्पादनमुलक उद्योगहरूले आफ्नो क्षमताको ४० प्रतिशत हाराहारीमा मात्रै उत्पादन गरिरहेका छन् । त्यसैले अर्थतन्त्रलाई अगाडि बढाउन समग्र माग बढाउने नीति लिन आवश्यक छ,’ उनले भने ।
अर्थतन्त्रमा अस्वाभाविक सङ्कुचन आउँदा, समग्र माग बढ्न नसक्दा उद्योग व्यवसाय बन्द हुने क्रम बढ्दै गएको उनको भनाइ छ । त्यसबाट बैंक तथा वित्तीय संस्थाहरूको वासलातमा समेत गम्भीर असर परेको उनले बताए ।
‘बैंकहरूको एनपीएल ३.७३ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा यस्तो एनपीएल २.६३ प्रतिशत थियो । यस्तै कालोसूचीमा पर्नेहरूको सङ्ख्या निकै बढेको छ । गत वर्षको फागुनमा ३९ हजार रहेकोमा यो फागुनसम्म बढेर ७७ हजार बढी पुगिसकेको छ । निकै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न कुनै पनि निकायले यो वा त्यो बहानामा यथास्थितिमा बस्न सक्ने अवस्था छैन्, हुनुहुँदैन,’ अध्यक्ष अग्रवालले भने ।
समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरूको उत्पादन लागत बढिरहेको र नियमित विद्युतको आपूर्ति उद्योगहरूका लागि लाइफलाइन नै भए पनि पछिल्ला केही महिनादेखि उद्योगहरूमा गरिएको अघोषित लोडसेडिङ्गले थप मर्माहत बनाएको प।नि उनले बताएका छन् । ‘एकातिर विद्युत् खपत बढाउन नेपाल विद्युत् प्राधिकरण लागिरहेको छ अर्कोतर्फ धेरै विद्युत् खपत गरिरहेका उद्योगहरूमा नै १६ घण्टासम्म लोडसेडिङ्ग गराइरहेको छ । यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौं,’ उनले भने, ‘विद्युत् प्राधिकरणले अहिले विद्युत् आयात गर्दा महङ्गो पर्ने भनिरहेको छ । केही समय आयात गर्दा प्राधिकरणलाई केही घाटा भए पनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा त्यसले सहयोग गर्छ । त्यसैले महङ्गो दरमा आयात गरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन माग गर्दछौं ।’
CNI-President-Speech__21st-AGM__FINAL-1
FACEBOOK COMMENTS