काठमाडौं । नेपालमा कफी उत्पादन हुने जमीनको क्षेत्रफल प्रत्येक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमीनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा आव २०७८/७९ मा आइपुग्दा उक्त क्षेत्रफल ९ सय ६२ हेक्टरले बढेर ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ ।
खेती हुने क्षेत्रफल बढेपछि उत्पादन पनि बढ्नुपर्ने हो, तर यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्यांक छ । आव २०७१/७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७८/७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।
पछिल्लो ८ वर्षको तथ्यांक हेर्दा आव २०७५/७६ मा सबैभन्दा बढी ५ सय ३० मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । त्यसवेला २ हजार ७ सय ६१ हेक्टर जमीनमा कफीखेती थियो ।
बोर्डका सूचना अधिकारी दीपक खनालले माटोको कमजोर उर्वराशक्ति तथा गुणस्तरीय बीउ र मलको अभावमा उत्पादकत्वमा सुधार हुन नसक्दा जमीनको क्षेत्रफल बढेअनुसार उत्पादन बढ्न नसकेको बताए । नेपालमा अर्ग्यानिक कफी उत्पादन गरिने भएकाले रासायनिक मल प्रयोग नहुने त्यसको सट्टा अर्ग्यानिक मल प्रयोग हुने बताए । उनले भने, ‘तर, त्यो पनि पर्याप्त मात्रामा उपलब्ध छैन । नेपाली कफी किसानले तीन भागको एक भागमात्रै मल प्रयोग गर्न पाएका छन् ।’
उनका अनुसार उत्पादन बढ्न नसक्नुको अर्को मुख्य कारण गुणस्तरीय बीउको अभाव पनि हो । नेपालमा १९९५ सालमा गुल्मीबाट अरबिका प्रजातिको कफीखेती शुरू भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS