सप्तरी । शीतलहरसँगै अत्यधिक जाडो बढेपछि सप्तरीका दुईवटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
जिल्लाको राजगढ गाउँपालिकाले अत्यधिक रूपमा बढेको चिसो तथा शीतलहरका कारण बालबालिकाको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै बर्से र हिउँदे बिदामा मिलान हुने गरी आइतबारदेखि १८ गतेसम्म विद्यालय बन्द गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष रेणुदेवी मण्डलले बताए ।
यस्तै, डाक्नेश्वरी नगरपालिकाले समेत प्रशासनिक कार्यबाहेक नियमित पठनपाठनको कार्य बन्द रहनेगरी विद्यालयमा बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी पाँच दिन बिदा दिइएको जानकारी दिए ।
नगरपालिकाअन्तर्गतका सबै निजी तथा सामुदायिक विद्यालयमा पाँच दिनका लागि बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
केही दिनयता बढेको अत्यधिक जाडोका कारण सप्तरीसहित तराई मधेसको जनजीवन प्रभावित भएको छ ।

FACEBOOK COMMENTS