आश्विन २, काठमाडौं ।निकै लोकप्रिय मानिएको कमेडी च्याम्पियनले आज यस सिजनको नयाँ विजेता घोषणा गर्दैछ । आज भोटिङका आधारमा दोस्रो सिजनको उपाधि विजेताको घोषणा गर्न लागिएको हो।
यस सिजनको अन्तिम प्रतिष्पर्धामा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवाल रहेका छन्। उनीहरुमध्येबाट सबैभन्दा धेरै भोट ल्याउने च्याम्पियन बन्ने छन्।
ताप्लेजुङका भरतमणिलाई धेरैले दाबेदार प्रतिस्पर्धीका रुपमा लिएका छन्। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए। उनले सेमिफाइनलमा पूर्व युवराज पारस शाहको क्यारिकेचर गरेका थिए। पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्ग्यात्मक प्रस्तुतिलाई धेरैले रुचाए पनि। जसकारण उनी बिना भोटिङ नै सिधैँ फाइनलमा पुगेका थिए। समसामयिक र राजनीतिक विषयवस्तु चोटिलो प्रहार गर्नु भरतमणिको कमेडीको विशेषता हो।
त्यसैगरी भारत सिक्किमका बिक्की अग्रवाल मौलिक र फरक प्रस्तुतिका लागि चिनिन्छन्। अन्तिम ४ को प्रतिस्पर्धामा उनले कमेडी च्याम्पियनको स्टेजमा नै पहिलोपटक ‘पेन्टोमाइमु प्रयोग गरेका थिए। बिक्की नेपाली कमेडीमा नयाँ आयाम भित्र्याउने प्रतिस्पर्धीको रुपमा चिनिन्छन्।
अर्का प्रतिस्पर्धी हुन् गोरखाका सन्तोष थापा। निर्णायक मनोज गजुरेल सन्तोषलाई विक्की र भरतमणीको फ्यूजनको रुपमा लिन्छन्। साथै उनको प्रस्तुतीमा ‘रियल लाईफ एक्सपेरियन्स’, ‘अर्गयानिक कन्टेन्ट’, हाउभाउको सही प्रयोग र प्रस्तुतीमा शालिनता र सरलता भेटिने समेत गजुरेलले उल्लेख गरेका छन्।
तीनै जना प्रतिस्पर्धीबीच चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। आफूलाई मनपरेको र आफ्ना क्षेत्रका प्रतियोगी जिताउन विभिन्न खालका क्याम्पेनिङ गरिएका कारण यस सिजनमा कसले जित हात पार्छ भन्ने भन्न अन्तिम नतिजा कुर्नुपर्ने भएको छ। विजेताले २५ लाख नगद र कार पाउँनेछन्।
कमेडी च्याम्पियन को फाइनल आज बेलुका ९ बजे देखि कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।
FACEBOOK COMMENTS