काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकामा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै तत्कालीन उपप्रमुखसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा आर्थिक वर्ष २०७७/७८ मा सञ्चालित ‘ओगडेनी सिर्सुपाटा हुँदै उच्छव ओडीखोरासम्म सिँचाइ कुलो निर्माण’ योजनामा सम्झौताविपरीत कार्य गरी १९ लाख ४८ हजार ४ सय ८८ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरेको हो।
कुलो निर्माणका लागि ४२ लाख ८४ हजारमा ९३० मिटर लम्बाइको पक्की कुलो निर्माण गर्नुपर्ने भए पनि ३५४ मिटर मात्र कच्ची कुलो निर्माण भएको आयोगको अनुसन्धानको क्रममा देखिएको छ ।
तर भुक्तानीका क्रममा भने योजना मुताबिक ९३० मिटर नै पक्की कुलो निर्माण भएको भनी झुट्टा नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी मिलोमतोमा भ्रष्टाचार गरेको आयोगले दाबी गरेको छ। जसका कारण भए गरेको वास्ताविक काम भन्दा १९ लाख ४८ हजार ४८८ भुक्तानी दिएको छ ।
आयोगले तत्कालीन नरहरिनाथ गाउँपालिकाका उपप्रमुख मनशोभा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गराज न्यौपाने, वडा नं. ७ का वडाध्यक्षदल बहादुर विश्वकर्मा, सब इन्जिनियर अनिल कुमार विष्ट, सब इन्जिनियर अमर शाही, उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, उपभोक्ता समितिका कोषाध्यक्ष मध विश्वकर्मा र उपभोक्ता समितिका सचिव काशी विश्वकर्माविरुद्ध अभियोगपत्र दायर गरिएको हो ।