काठमाडौं । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री रहेका केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ ।
आयोगले केही दिनभित्रै ओली लेखकलाई बयानका लागि उपस्थित हुन पत्राचार गर्ने तयारी गरेको हो । ओली लेखकलाई आयोगले उपत्यका नछाड्न निर्देशन दिएको छ ।
ओलीले आफू बयानका लागि आयोग समक्ष उपस्थित नहुने बताउँदै आएका छन् । तर उनी प्रधानमन्त्री रहेकै बेला ७६ जना नवयुवाको हत्या भएको र राज्यका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकासहित सयौँ सरकारी कार्यालय, निजी सम्पत्ति आगजनी गरिएको जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको छ ।
आयोगले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा उपस्थित गराएर आइजिपी दानबहादुर कार्कीसँग बयान लिएको छ । भदौ २३ गते जेनजी आन्दोलन र २४ गते त्यहीँ आन्दोलनका नाममा विध्वंस हुँदा उनी उपत्यका प्रहरी परिसर रानिपोखरीका प्रमुख थिए ।
आन्दोलनका बखत एआइजी रहेका कार्कीलाई सरकारले कात्तिक २४ गते आइजिपी नियुक्त गरेको थियो । आयोगले उनीसँग भदौ २३ गते एकै दिन ७६ जना युवाको हत्या हुनुका पछाडि प्रहरीको भूमिका, भदौ २४ गतेको विध्वंस नियन्त्रण हुन नसक्नुको कारणबारे सोधपुछ गरेको छ ।

आयोगका प्रवक्ता विज्ञान शर्माका अनुसार कार्कीको बयान अझै बाँकी रहेकाले मंगलबार पनि जारी रहनेछ। आयोगले तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङसँग यसअघि नै बयान लिइसकेको छ ।

FACEBOOK COMMENTS