काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको खनालले जानकारी दिएका छन् ।
अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिँदै खनालले एकता सन्देश सभाको ब्यानरमा कार्यक्रम गरिने बताए । खनालले अशोक राई र उपेन्द्र यादवको पार्टीसँग कुराकानी भइरहेको भन्दै केही अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरेका छन् ।
कार्तिक १९ गते १० दल र अभियानसहित नेपाली कम्युनिष्ट पार्टी घोषणा गरिएकोमा कार्तिक २६ गते भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालसँग समेत एकता भयको थियो । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले कार्तिक २८ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र समेत पाइसकेको छ ।

FACEBOOK COMMENTS