 
			                  			              
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सुरू गरेको छ ।
महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ ।
आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट गत असोज २२ गते आवेदन आह्वान गरेको थियो । सोही अनुसार सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये पाँचवटा छनोट भई बन्ध्याकरण कार्य सुरू भएको हो । विशेष गरी कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिइएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले बन्ध्याकरण कार्य व्यवसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौताअनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिए ।
उनले भने– ’कुकुर लगेर रिकभरी नभएसम्म नछोड्नुहोस्, कठिनाइ आएमा हामी फेरि छलफल गर्नेछौं ।’ न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ । आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा थप ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको छ।

सम्झौता अनुसार, संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा भ्याक्सिनेसन कार्य सञ्चालन गर्नुपर्नेछ । बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्ने छ । आवश्यक औषधि, सर्जिकल सामग्री तथा रेबिज खोप संघसंस्थाले आफैं खरिद गर्नुपर्नेछ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS