खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब रु तीन करोड लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ ।
कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन भएको हो ।
नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा प्रदेश सरकार, १ नं प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७७ चैत २१ गते केन्द्रको शुभारम्भ गरेका थिए । केन्द्रबाट हालसम्म प्रतिवटा १५ केजीको चार सय ३५ बोरा मल मात्र उत्पादन गरिएको छ । जबकी, कम्पोष्ट प्लान्टबाट प्रतिघण्टा एक हजार केजी प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।
अर्थ मन्त्रालयको विशेष अनुदान एवं प्रदेश सरकारको रु दुई करोड ७० लाख लागतमा निर्माण गरिएको प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको मूल्य प्रतिबोरा रु पाँच सय निर्धारण गरिएको छ । हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र बिक्री भएको जनाइएको छ ।
स्थापनाकालमा उत्पादित एक सय ५० बोरा प्राङ्गारिक मल नगरपालिकाको दिक्तेलस्थित सपिङ कम्प्लेक्समै थन्काइएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियान अनुसार उत्पादन गरिएका अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको जनाइएको छ ।
कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठको भन्दा कैयौँ गुणा मलिलो भए पनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गङुगाबहादुर विश्वकर्माले बताए । “कम्पोष्ट प्लान्टको प्राङ्गारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेको छु । गोठको गोबरभन्दा कैयौँ गुणा राम्रो छ”, उनले भने, “तर, यसको महत्वबारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सबै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गाह्रो हुने अवस्था आउँथ्यो ।”
उद्घाटन अघि र केही समयपछिसम्म सामान्य मात्रामा प्राङ्गारिक मल उत्पादन हुँदै आएको प्लान्टमा करिब दुई वर्षदेखि उत्पादन ठप्प छ । नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा बायोग्यास प्लान्टबाट नियमित प्राङ्गारिक मल उत्पादन नभएको स्थानीय बासिन्दाको आरोप छ ।
कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मललाई किसानले आफ्नो गोठको मलसरह ठानेकाले नियमित उत्पादन गर्न नसकिएको नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले बताए । “उद्घाटनलगत्तै एकलट मल उत्पादन भयो । परीक्षण गर्दा मलको क्वालिटी राम्रो छ तर, बजार मूल्य बढी भयो भनेर किसानले रुचाएका छैनन् । नियमित खपत नभएपछि धेरै मल उत्पादन नगरिएको हो”, उनले भने, “अब निजी संस्था वा साँझेदारी संस्थामार्फत सञ्चालन गर्ने गरी कार्यविधि तयार पारेका छौँ । मूल्यका विषयमा पनि पुनः विचार हुन्छ ।”
संघीय सरकारको विशेष अनुदानस्वरुप प्राप्त भएको रु तीन करोड ३२ लाखमध्ये कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्ट निर्माणमा रु एक करोड ८५ लाख खर्च भएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले जानकारी दिए । अन्य रकम दुई वटा ट्र्याक्टर खरिद, दिक्तेलबजारमा ‘डस्बिन’ राख्न तथा वडा नं ५ लफ्याङस्थित डम्पिङसाईट पुग्ने सडक मर्मतमा खर्च गरिएको जनाइएको छ ।
यस्तै, कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान रु ५० लाख र नगरपालिकाको आन्तरिक स्रोतबाट रु ३५ लाख खर्च भएको जनाइएको छ । राज्यकोषको यति धेरै रकम खर्च भएको कम्पोष्ट मल तथा बायोग्यास उद्योग उपयोगविहीन भएपछि किसान समस्यामा परेका छन् ।
कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्टसँगै अघिल्लो कार्यकालमा नगरभित्र निर्माण गरिएका दर्जन बढी भौतिक संरचना उपयोगविहीन भेटिएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईले बताए । “कतिपय अनावश्यक संरचना पनि बनेका रहेछन्”, उनले भने, “नगरको लगानीमा बनेकाले सबै भौतिक संरचनालाई प्रयोगमा ल्याउने विकल्प खोजी गर्ने काम भइरहेको छ ।”
नगरपालिकाले विभिन्न निकायसँगको साझेदारीमा निर्माण गरेको करोडौँ लगानीको एकीकृत बस्ती, पेन टावर, आँखापोखरी, विभिन्न पार्क (उद्यान) लगायतका भौतिक संरचना उपयोगविहीन बनेका छन् । कतिपयले राजनीतिक स्वार्थका कारण अघिल्लो कार्यकालमा निर्माण गरिएका भौतिक संरचना अहिलेका जनप्रतिनिधिले उपयोगमा ल्याउन चासो नदिएको आरोप लगाउँदै आएका छन् । रासस
FACEBOOK COMMENTS