काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई पितृ शोक परेको छ । पाण्डेका बुवा पूर्वसचिव दुर्गाप्रसाद पाण्डेको बिहीबार निधन भएको हो ।
लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका पूर्व सचिव पाण्डेले अमेरिकाको जर्ज टाउन विश्वविद्यालयमा सन् १९६२ मा अध्ययन गरेका थिए भने सन् १९५६ मा पर्यटनसम्बन्धी तालिम लिएका थिए ।
पाटन कलेजमा सरकारी सेवातर्फ अस्थायी लेक्चररका रुपमा काम गरेका उनले १९६१ पर्यटन विभागको उपसचिव भएर काम गरेका थिए। मन्त्रिपरिषद् सचिवालयको विभागीय प्रमुख, कोलकत्ताको लागि महावाणिज्य दूत, वीरगन्ज चिनी कारखानाको अतिरिक्त सचिव, आपूर्ति मन्त्रालयको सचिव वाणिज्य मन्त्रालयको सेवाबाट सन १९९० मा अवकाश पाएका थिए।
नेपाल भारत वाणिज्य तथा पारवहनसम्बन्धी विषयहरूको सरकारी वार्ता तथा बैठकहरूमा नेपालको तर्फबाट करिब ४२ पटक सहभागी भएका उनले सन् १९७१, सन् १९७८ र सन् १९९१ को व्यापार तथा पारवहन सन्धि गर्ने कार्यमा विशेष सहभागिता जनाएका थिए ।
पूर्वसचिव पाण्डे गोरखा दक्षिणबाहु, त्रिशक्ति तथा दीर्घसेवा पदकजस्ता मानपदवीबाट सम्मानित पनि भइसकेका थिए।
FACEBOOK COMMENTS