काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी अमेरिका र इजरायल–इरान द्वन्द्वका कारण हालसम्म नेपालमा २८ उडान अवरुद्ध भएको छ ।
शनिबार (फागुन १६) एकैदिन १८ उडान अवरुद्ध भएको थियो । आइतबार दिउँसो १२:२० बजेसम्म थप १० गरी २८ उडान प्रभावित भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)ले जनाएको छ ।
शनिबार विभिन्न एयरलाइन्सका गरी १८ उडान रोकिँदा करिब तीन हजार यात्रु प्रभावित भएका क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार, नेपाल वायुसेवा निगमका तीन उडान (काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई) प्रभावित भए । यी तीन उडानका निम्ति करिब ५०० यात्रु थिए ।
यस्तै, कतार एयरवेजका चार उडान प्रभावित हुँदा करिब ८०० यात्रु प्रभावित भएका छन् । फ्लाई दुबईका चार उडान रोकिँदा करिब ६०० यात्रु प्रभावित भए । एयर अरेबियाका शारजाहका निम्ति निर्धारित दुई उडान प्रभावित हुँदा करिब ३०० यात्रु समस्यामा परेका छन् ।
हिमालय एयरलाइन्सका दमाम, दोहा र दुबई गन्तव्यका तीन उडान प्रभावित हुँदा करिब ५०० यात्रु प्रभावित भएका भुलले जानकारी दिए ।
कुवेत एयरवेजका दुई उडान स्थगन हुँदा करिब ३०० यात्रु प्रभावित भएका छन् । क्यान सूचना अधिकारी भुलका अनुसार, मध्यपूर्व क्षेत्रमा लागु गरिएको हवाईमार्ग प्रतिबन्धका कारण आइतबार दिउँसो १२:२० बजेसम्म विभिन्न एयरलाइन्सका गरी थप १० उडान प्रभावित हुँदा करिब एक हजार ६०० यात्रु समस्यामा परेका छन् ।
क्यानको विवरणानुसार, जजिरा एयरवेजका दुई उडान रोकिँदा करिब २५० यात्रु प्रभावित भएका छन् ।
विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था
मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ ।

कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि सङ्घले व्यवस्था मिलाइएको जानकारी दिए ।

“कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ”, उनले भने । सङ्घले अप्ठ्यारोमा परेका यात्रुलाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

FACEBOOK COMMENTS