काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले आफ्नो पार्टी अव पनि नसुध्रिने हो भने समाप्त हुने बताएका छन् । आज शंकर तिवारीले लेखेको पुस्तक ‘कसले सुधार्ने काँग्रेस’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस नसुध्रिए पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताएका हुन् ।
उनले नौ लाख पार्टीका कार्यकर्तालाई काँग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काँग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काँग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सक्नुपर्नेमा जोड दिए । उनले काँग्रेस चुनाव जित्ने दाबी गरिरहेका बेला काँग्रेसले किन जित्नुपर्छ भन्ने कुराको आम जनतामा बोध गराउन सक्नुपर्ने बताए ।
उनले काँग्रेसको चौधौँ महाधिवेशनपछि काँग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली काँग्रेससँग जोड्नुपर्ने उल्लेख गरे । उनले पार्टीमा बिचार र नेतृत्व दुवै आवश्यक रहेको बताउँदै पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभई अन्य नागरिकहरूलाई जोडिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
उनले काँग्रेसका युवा नेता तिवारीद्वारा लिखित पुस्तक ‘कसले सुधार्ने काँग्रेस’ भित्र काँग्रेस बिगार्ने तत्त्वहरू तथा सुधार गर्ने विषयमा धेरै कुरा समेटिएको बताए । उनले लेखक तिवारी काँग्रेसभित्र निकै अध्ययनशील व्यक्तित्व रहेको उल्लेख गर्दै महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउन बिचार निर्माणमा जोड दिनुपर्ने बताए ।
FACEBOOK COMMENTS