काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा लगाउने अभियानको प्रारम्भ गरेका हुन् । प्रचारको विविध प्रक्रियाअनुसार आज सडकका पोलहरुमा झण्डा लगाउने तथा विभिन्न स्थानमा स्वागत गेट बनाउने कार्य प्रारम्भ गरेको उनले जानकारी दिएका छन् ।
महाधिवेशनका लागि स्वागतद्वार तथा श्रङ्गारको लागी कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगञ्ज, बल्खु, बालाजु क्षेत्रमा ठूला १४ स्वागतद्वार बनाउन सुरु गरेको छ । यसबाहेक महाधिवेशनस्थल भृकुटीमण्डप वरपर झण्डै १० स्वागतद्वार बनाइने छ।
कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।
FACEBOOK COMMENTS