काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता वितरणमा आवश्यक समन्वय र सहजिकरण गर्न सबै जिल्ला कार्यसमितिलाई सर्कुलर पठाएको छ ।
महामन्त्री गगन थापाले मंगलबार सर्कुलर जारी गर्दै पार्टीको नयाँ क्रियाशील सदस्यता फारम वितरण गर्दा जिल्ला कार्यसमितिको तर्फबाट प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगरपालिका कार्यसमिति र वडा कार्यसमितिसँग समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्न आग्रह गरेका छन् ।
कांग्रेसको विधानको धारा ४(८)(क)(१) बमोजिम नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा परेका उजुरीको प्रारम्भिक छानवीन र निर्णय गर्ने कार्य जिल्लास्थित क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समितिको रहेकोले तहगत रुपमा सदस्यता वितरणको सहिजकरण, अनुगमन गर्दै कतै समस्या वा उजुरी गुनासो आएमा सो उपर छानवीन गरी केन्द्रीय कार्यसमितिको निर्णय अनुसार समयतालिका भित्रै निर्णय गरी केन्द्रमा जानकारी गराउन सर्कुलरमा भनिएको छ ।
साथै नयाँ क्रियाशील सदस्यता १५औं महाधिवेशनको कार्यतालिका अनुसार गर्नुपर्ने र नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र केन्द्रीय परिपत्र अनुसार सहज र व्यापक वितरण गर्ने पार्टीको नीति रहेकाले सोही अनुसार मापदण्ड समेत पठाइसकेको अवस्थामा मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ कृयाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।
काँग्रेसले यसअघि क्रियाशील सदस्यताको फारम पठाउदा कतिपय क्षेत्रमा क्रम संख्या नभएको फारम समेत वितरण भएकोमा पुनः क्रम संख्या नम्वर सहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइसकिएको महामन्त्री थापाले जानकारी दिएका छन् ।

कांग्रेसले १५औ महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म गर्ने निर्णय गरेको छ । जसअनुसार एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने समय पुस १० गतेसम्म तोकिएको छ भने दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि पुस ११ सम्म तोकिएको छ ।

FACEBOOK COMMENTS