काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरे । बैठकले २०७९ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचनपूर्वका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बारा जिल्लाको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।
यसैगरी बैठकले कांग्रेस केन्द्रीय कार्यालय सञ्चालन निर्देशिका, २०७९ र कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावलीमा प्राप्त सुझावसमेतलाई समावेश गर्ने गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS