काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउन लागेपछि विपक्षी दलको बैठक जारी छ। झन्डै दुईतिहाइ जनमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माणको बाटोमा अघि बढेपछि कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठक बसेको हो।
सिंहदरबारमा जारी बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीतिलगायत एजेण्डामा छलफल हुनेछ ।
मंगलबार प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ अध्यादेश पुगेपछि मात्रै सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने ल्याउने निर्णय गरेको खुलेको थियो । तर, सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका थिएनन् ।
दुवै अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गत वैशाख ८ गते मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरिएको थियो। उक्त अधिवेशन वैशाख १० गते मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिबाट स्थगित गरिएको थियो। बैठकमा श्रम संस्कृति पार्टी सहभागी छैन।