काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।
मंगलबार उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सो रिट आइतबार दर्ता गराएका थिए । रिटको पेसी आइतबारकै लागि तोक्न आग्रह गरिएको भए पनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो ।
पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल बाँकी हुँदाहुँदै विधान विपरीत विशेष महाधिवेशन गरेको र निर्वाचन आयोगले हचुवाको भरमा अर्को पक्षलाई आधिकारिकता दिएको भन्दै देउवा पक्ष अदालत पुगेको हो। रिटमा निर्वाचन आयोगको निर्णय बदर गरी साविकको कार्यसमिति नै आधिकारिक रहेको दाबी गरिएको छ ।
FACEBOOK COMMENTS