पोखरा कात्तिक २२,नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने भएको छ । भदौ १८ देखि वडा अधिवेशन सुरू गरे पनि कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन ।
कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गरेको छैन । रसुवा र रौतहटमा अझै क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । यही कात्तिक २७ गते बाँकी जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ ।
यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ । बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ ।
हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकिइसकेका छन् । कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने भनेको छ । त्यसअघि प्रदेश, जिल्ला लगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन् ।
कांग्रेसले पटक पटक महाधिवेशनको मिति सार्दै आएको छ । अब तोकिएकै समयमा महाधिवेशन हुने सभापति शेरबहादुर देउवा बताउँछन् । आफूले चाहेर पनि अब महाधिवेशन सार्न नमिल्ने उनले बताएका छन् । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण ढिलाइ गरेको तथा सदस्यतासम्बन्धी विवाद टुंग्याउन समय लगाएकोले पनि महाधिवेशन पटक पटक सर्दै आएको छ ।
निर्वाचन समितिका अनुसार वडा र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेका अन्य ४६ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछ । अधिवेशन हुन बाँकी सबै जिल्लामा मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने मंसिर १० मा जिल्ला अधिवेशन हुनेछ ।
महाधिवेशनको कार्यतालिका अनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन हुनेछ । निर्वाचन समितिले केन्द्रीय महाधिवेशनको निर्वाचन कार्यक्रम भने मंसिर २१ गतेदेखि नै कार्यान्वयनमा जाने जनाएको छ ।
FACEBOOK COMMENTS