काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचन नलड्ने बताएका छन् ।
गृहजिल्ला नुवाकोटमा नेताहरूसँगको कुराकानीमा केसीले अघिल्लो निर्वाचनपछि नै आफूले चुनाव नलड्ने घोषणा गरेको र त्यो यथावत् रहेको बताएका हुन् ।
’यो भन्दा अगाडिको चुनावमै मैले सार्वजनिक रूपमै अब चुनाव लड्दिनँ भनेको थिएँ,’ उनले भने, ’ मैले बोलेजस्तो चुनाव लड्दिनँ भनेको थिएँ। लड्दिनँ।’चुनाव नलडे पनि पार्टी राजनीतिमा भने सक्रिय रहने उनले बताए ।
’म चुनाव नलड्नुको अर्थ म राजनीति छाड्ने होइन। म त्यतिकै सक्रिय हुन्छु पार्टीको केन्द्रीय स्तरदेखि हरेक कुरामा मेरो सक्रियतामा कुनै कमी आउदैन। नुवाकोटको राजनीतिमा पनि अहिलेसम्म निरन्तर क्रियाशील छु।
मेरो जुन दिनसम्म ताकत र शक्ति छ म त्यतिकै एक्टिभ हुन्छु। क्रियाशील हुन्छु,’ उनले भने । उनले पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्छ भन्दा कसैले निहुँ खोजे त्यसको औषधी गर्ने पनि बताए । ’मेरो स्वभाव यस्तै खालको छ। तपाईंहरू हठी भन्नुस्, एकोहोरो भन्नुस्।

गाली गरे पनि मलाई आपत्ति छैन। अर्को कुरा सबै एक बनाएर अगाडि बढ्नुपर्छ भन्दा पनि कोही निहुँ खोज्छ भने त्यो निहुँ खोज्नेको औपधी समयअनुसार गर्छु,’ उनले भने ।

FACEBOOK COMMENTS