काठमाडौँ । धनगढीस्थित आफ्नो निजी निवासमा रहेका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका छन् ।
आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला डडेल्धुराको प्रतिनिधिसभा सदस्यका प्रत्याशी रहेका प्रधानमन्त्री देउवाले निवासमा नेता कार्यकर्तालाई बोलाएर भेटघाट र छलफललाई तीव्रता दिएका छन् । चुनावी प्रचारका लागि आफ्नो गृह जिल्लामा भएका सभामा सहभागी भएर आइतबार धनगढी फर्किएका प्रधानमन्त्री देउवाले खास गरी टिकट वितरणपछि असन्तुष्ट नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । भेटघाटका क्रममा देउवाले आसन्न चुनावी अवस्थाका विषयमा जानकारी लिइरहेका छन् ।
देउवाले आज आफूसँगको भेटमा उम्मेदवारी निष्क्रिय पारेर पार्टी र सत्ता गठबन्धनको पक्षमा लाग्न आग्रह गरेको काँग्रेसका नेता गोविन्दराज जोशीले बताए । उनले भने, “सभापतिले आज मलाई बोलाएर स्वतन्त्र नलड, पार्टीमा फर्किएर काम गर भन्नुभयो, मैले धेरै अगाडि बढिसकेकाले चुनाव लड्न दिनुस् भनेँ ।”
जोशीले कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । सोही क्षेत्रबाट काँग्रेसका युवा नेता लक्ष्मण शाही पनि स्वतन्त्र उम्मेदवार छन् । सो क्षेत्रमा सत्ता गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का अमरबहादुर साउदलाई टिकट दिएको छ ।
कैलाली निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) को प्रतिनिधिसभा सदस्यमा काँग्रेसले नेता डिल्लीराज पन्तलाई टिकट दिएको छ भने पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवार छन्। पाँच वर्षअघिको निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको प्रत्याशी रहेकी काँग्रेस नेत्री डा आरजु राणा देउवालाई अन्तरघात गरेर पराजित गरेको भन्दै काँग्रेसका नेता रहेका ओझा पार्टीको कारबाहीमा परेका थिए ।
अहिले ओझाको पक्षमा कतिपय नेता कार्यकर्ता लागेपछि पार्टी सभापति देउवाले नेता कार्यकर्तालाई मनाउने कोसिस गरिरहेका छन् । क्षेत्र नं ५ कै प्रदेशसभा (२) मा काँग्रेस नेता प्रकाश देउवालाई टिकट दिइएको छ । प्रदेशसभाको यसै क्षेत्रबाट काँग्रेसका युवा नेता क्षितिज भण्डारीले पार्टीबाट राजीनामा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैबिच प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाले कात्तिक २३ गते बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । सोही कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सम्बोधन गर्ने बताइएको छ ।
FACEBOOK COMMENTS