चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन् भएको बताएका छन् ।
आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने भन्दै सहकारी प्रकरणमा छानबिन समिति बनाए पनि संसद्मा बोल्न पाउनुपर्ने बताएका हुन् ।
सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिँदै उनले भने, ‘छानबिन समिति बनाए पनि हुन्छ । तर संसद्मा बोल्न पाउनुपर्छ । नेपाली कांग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिने होइन ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले सहकारी ठगीका मुख्य आरोपी जीबी राईलाई नियन्त्रमा लिने प्रयास भइरहेको बताएका छन् । उनलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेको उनको भनाइ छ । ‘राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ,’ लामिछानेले भने ।
उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको बताउँदै उनले त्यसलाई समाधान गरेर निजलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे । प्रहरीले सवारीचालक अनुमतिपत्र घोटलादेखि ठूला अनियमिततासम्मका फाइल अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS