काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आयोजना गरेको ‘काठमाडौँ तदर्थ समिति घोषणा’ सभामा उनले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस नलाग्ने बताए । “कांग्रेस भ्रष्टाचार विरुद्धको अभियानमा खरो रुपमा उभिन्छ, कांग्रेसले भ्रष्टाचारीलाई जोगाउँदैन”, उनले भने ।
नेता केसीले कांग्रेसले आउने दिनमा विद्यार्थी, तरुण युवा, महिला, दलित, जनजाती, होटल व्यवसायीलगायतलाई सही ढङ्गले परिचालन गरेर सङ्गठन निर्माणमा लाग्ने बताए । उनले भर्खरै निर्माण भएको तदर्थ समितिले सबैलाई समेटेर अगाडि बढ्न आग्रह गरे ।
कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घलाई पार्टीको भ्रातृ संस्थाको रुपमा मान्यता दिन आफूले पहल गर्ने बताए । उनले देशभरका ८० हजार होेटल व्यवसायीले लाखौँ युवालाई रोजगारी प्रदान गर्दै आएको भन्दै होटल व्यवसायीको सम्मानमा सरकार लाग्नुपर्ने बताए । ग्राहकलाई सन्तुष्टि दिने गरी काम गर्न उहाँले सम्पूर्ण होटल व्यवसायीलाई आग्रह गरे ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारले नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन नेपाली होटल व्यवसायीले महत्वपूर्ण भूमिका रहेको बताए । उनले व्यवसायीको समस्यालाई समाधान गर्न नयाँ कार्यसमिति लाग्ने विश्वास व्यक्त गरे ।
कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटाले कांग्रेसलाई बलियो बनाउन देशभरका होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । कांग्रेस बागमती प्रदेशका सदस्य इन्द्रमान महर्जन, होटल व्यवसायी अमृत भुजेल, कांग्रेस युवा नेता शैलेश कार्कीलगायतले व्यवसायीको सुरक्षाका लागि सरकार लाग्नुपर्ने बताए । सङ्घका केन्द्रीय उपाध्यक्ष दिपेन सुवेदीले देशभर नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घको तदर्थ समिति गठन गरिने बताए ।
FACEBOOK COMMENTS