काठमाडौं । नेपालको राजनीति अत्यधिक विकृत हुँदै गएपछि र लामो समयसम्म अस्थिर हुने सम्भावना देखिएपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दबाब दुवै दलका नेतालाई पर्न थालेको छ ।
गत निर्वाचनमा पहिलो ठूलो दल बनेको कांग्रेस र दोस्रो ठूलो बनेको एमाले मिलेरै सरकार बनाउँदा अन्य साना दललाई चलखेल गर्ने ठाउँ बन्द हुने र राजनीति पनि विकृत नहुने भन्दै दुवै दल मिलेर सरकार बनाउन दबाब परेको हो ।
राष्ट्रपतिको निर्वाचनमा पनि दुवै दल मिल्न सके उपयुक्त हुन सक्ने सुझाव नेतालाई दिइएको छ । एमाले र कांग्रेस मिलेर राजनीतिलाई सही ढंगले हेन्डलिङ गर्नुपर्ने भन्दै नयाँ मोडले दुवै दलभित्र बहस सुरु भएको हो । दुवै दल जनआन्दोलन १ र २ तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दाका समेत सहयात्री हुन् ।
विशेषगरी कांग्रेस र एमालेमा रहेका इमानदार र पुराना नेताले अहिलेको राजनीति अत्यधिक विकृत बनेको र अनावश्यक चलखेल बढेको भन्दै त्यसलाई रोक्न पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको भन्दै नेतृत्वलाई सम्झाउन थालेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार दुवै दलले पाँच वर्षसम्म आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने र त्यसपछिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी आवश्यक गृहकार्य अघि बढाउनु पर्ने विषयमा छलफल सुरु भएको छ । कांग्रेसका केही इमानदार र सुशासन चाहने नेताले राजनीतिक स्थिरताका लागि र राजनीतिमा देखिएको अस्वाभाविक चलखेल र वद्मासी रोक्न पनि एमाले र कांग्रेस मिल्नु पर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकृष्ट गराउन थालेका छन् ।
उता एमालेका पुराना र इमानदार नेताले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी राजनीतिक स्थिरता कायम गर्न र अहिले देखिएको फोहोरी खेल रोक्न कांग्रेससँग मिलेर जानुपर्ने प्रस्ताव गर्न थालेका छन् । अध्यक्ष ओलीले पनि यो विषयलाई गम्भीरताका साथ लिएको एमालेका एक नेताले दाबी गरेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS