काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन भएको छ। कोरोना भाइरसको संक्रमण र पार्टीको क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्योलमा परिरहेका बेला शुक्रबार सुरु भएको वडा अधिवेशनमा कांग्रेसका नेता कार्यकर्ताको सक्रिय सहभागिता रहेको छ।
२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्। अधिवेशनको पहिलो दिन शुक्रबार नै ४१ जिल्लामा वडा तहको अधिवेशन भएको छ। वडा तहको अधिवेशन सुरु भएसँगै कांग्रेस नेता तथा कार्यकर्ता फेरि एकपटक तल्लो तहमा चलायमान बन्न पुगेका छन्।
४१ जिल्लामा वडा अधिवेशन सुरु भए पनि शुक्रबार नै सबै ठाउँमा प्रतिनिधि र वडा कार्यसमिति चयन प्रक्रिया भने सकिएको छैन। प्रदेश १ का ताप्लेजुङ, पाँचथर हुँदै सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्ममा वडा अधिवेशन भएको छ।
सदस्यता विवाद टुंगो लागेका ५६ जिल्लामध्ये बाँकी नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पा, बागलुङ, सल्यानसहितका जिल्लामा २१ गते, प्युठान, दाङ, कालीकोट र दार्चुलामा २२ गते वडा अधिवेशन गर्ने निर्णय भएको छ। झापा जिल्लामा वडा अधिवेशन शनिबार हुने भएको छ भने नवलपुर, रुकुम पश्चिमसहितले २३ गते गर्ने निर्णय गरेका छन् । २१ जिल्लामा भने क्रियाशील सदस्यता विवाद नै टुंगो लाग्न सकेको छैन । यही विवादका कारण कांग्रेसले यसअघि तीनपटकसम्म महाधिवेशन स्थगित गरेको थियो।
वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयन गर्ने हुँदा शुक्रबारबाट सुरु भएको वडा अधिवेशनप्रति केन्द्रीय नेतृत्वको चासो हुने गरेको छ। १ सय ५० जनासम्म क्रियाशील सदस्यता रहेको वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानको व्यवस्था छ। त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०र१० जना क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्थाअनुसार कांग्रेसले एउटा वडाबाट १५ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ।
वडा तहबाटै पूर्ण समावेशी सिद्धान्तका आधारमा प्रतिनिधि छनोटको व्यवस्था गरेको कांग्रेसले कम्तीमा ३३ प्रतिशत महिला सहभागितालाई अनिवार्य गरेको छ। न्यूनतम १५ जना प्रतिनिधि चयन हुने वडामा ९ जना खुलाबाट र बाँकी सात जना समावेशी र समानुपातिक प्रतिनिधित्वबाट निर्वाचित हुने व्यवस्थासहित पहिलो पटक समानुपातिक सिद्धान्तको अभ्यास गरेको हो।
क्रियाशील सदस्यता छानबिन समितिले बाँकी जिल्लाको विवाद समाधान गरेर सदस्यता सूची उपलब्ध गराए भदौ २७ गतेका लागि तोकिएको गाउँ र नगरपालिका अधिवेशनअघि नै बाँकी जिल्लाको अधिवेशन सक्ने कांग्रेसको केन्द्रीय निर्वाचन समितिको तयारी छ । सदस्यताको विवाद टुंगो लाग्न नसके भदौ २७ गतेका लागि तय गरिएको गाउँ र नगरपालिका अधिवेशन प्रभावित हुनेछ।
त्यस्तो अवस्थामा प्रदेशसभा क्षेत्रीय अधिवेशनसहितका अन्य कार्यतालिका पनि प्रभावित हुनसक्ने नेताहरूले जनाएका छन्। कांग्रेसले पछिल्लो पटक तय गरेको कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते हुनेछ। मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS