काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सोच र शैलीमै बदलिएर आएको बताएका छन् ।
शनिबार काँग्रेस काठमाडौं–४ को निर्वाचन परिचालन मुल समिति गठन समारोहमा बोल्दै सभापति थापाले कांग्रेसमा अनुहार मात्र बदलिएको नभएर सोच र शैलीमै बदलिएको बताएका हुन् । उनले भने– ’नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र यसको अब काम बदलिन्छ । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ ।’
कांग्रेस पार्टी पुरानो भएकोमा गर्व रहेको बताउदै सभापति थापाले पुरानो कांग्रेसका राम्रा कुरालाई स्वीकार गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकमा अहिले देशमा सुशासन होस् भन्ने अपेक्षा रहेको बताउदै काँग्रेसले जनताको अपेक्षा अनुसार नै अगाडी बढ्ने स्पष्ट गरे ।
साथै उनले अब नयाँ स्थानीय चुनाव र प्रदेशको चुनावभन्दा अगाडि पार्टीको महाधिवेशन हुने बताउदै कांग्रेसको नयाँ महाधिवेशनले पार्टीभित्रका सबै कुरालाई सम्बोधन गर्ने बताए । अहिले समय अभावका कारण आफुले सोचे जस्तो उम्मेदवार छनौट गर्न नसकेको बताउदै सभापति थापाले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने दाबि गरे । उनले अब आउने चुनावमा तल्लो तहमै प्राइमेरी चुनावबाट उम्मेदवार छान्ने स्पष्ट गरे ।
FACEBOOK COMMENTS