काठमाडौं । निर्माण व्यवसायी आफ्ना पूर्वघोषित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्ने आश्वासन दिएपछि निर्माण व्यवसायीले आन्दोलनका कार्यक्रम रोकेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको टोलीले बुधबार प्रधानमन्त्री ओलीसँग भेटेको थियो । भेटमा प्रधानमन्त्री ओलीले समस्या समाधानमा कार्यदल गठन गर्न सरोकारवालालाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै महासंघले शुक्रबारदेखि राजधानीमा गर्ने भनेको धर्नासहितका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि महासंघले २७ पुसमा राष्ट्रिय भेला आयोजना गरी चरणबद्ध आन्दोलन घोषणा गरेको थियो । महासंघले भुक्तानी, मूल्यवृद्धि तथा विभिन्न सार्वजनिक खरिद कानुनमा रहेका अवरोध हटाउन माग गर्दै आएको छ ।
यसबीच निर्माण व्यवसायीले विभिन्न दलका नेता र विभागीय मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । साथै १४ बुँदे माग पूरा गर्न १५ दिनको अल्टिमेटम दिएर १८ माघदेखि सडक आन्दोलन घोषणा गरेका थिए ।
FACEBOOK COMMENTS