काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलस्थित झौखेलधारा क्षेत्रमा रहेको पुरातात्त्विक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहेको छ ।
२०७० सालमा इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुसन्धानबाट उक्त क्षेत्रमा पुरातात्त्विक सम्पदा भेटिएको सार्वजनिक गरेका थिए । अहिले सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन् ।
डा. श्रेष्ठले एक दशकअघि सो क्षेत्रमा लिच्छविकालीन शिवदेव र अंशुवर्माको शिलालेखसँगै बौद्ध, चैत्य तथा प्राचीन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताए । उनका अनुसार साबिक पोखरी रहेको सो क्षेत्रमा अहिले स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदै छन् । उनले भने, “सम्पदा मासेर भौतिक संरचना निर्माण हुनु सम्पदामाथिको अपमान हो, यस्तो कार्य तत्काल रोकिनुपर्छ ।”
सम्पदा क्षेत्रमा निर्माण भइरहेको भौतिक संरचना तत्काल रोक्न स्थानीय सम्पदाप्रेमीले चाँगुनारायण नगरपालिका र पुरातत्त्व विभागअन्तर्गत भक्तपुर दरबार हेरचाह अड्डालाई ध्यानाकर्षण गराएका छन् ।
अहिले पनि अंशुवर्माको शिलालेखमा चाँगुनारायण (थमखोप्रिङ्ग दङ्ग्र) माथिल्लो भक्तपुरको सहर थियो भन्ने उल्लेख छ । उनले उक्त शिलालेखबाट चाँगुनारायण क्षेत्र प्राचीन सहर थियो भन्ने प्रस्ट भएको उल्लेख गर्दै अहिले पनि ती सम्पदा सोही स्थानमा रहेको बताए ।
भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले सम्पदा क्षेत्रमा स्थानीयले भौतिक संरचना बनाएको दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाको प्रारम्भिक अनुगमनबाट पुष्टि भएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS