काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले ‘सार्वभौम उपभोक्ता र बजारको वर्तमान अवस्था’ बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व उपभोक्ता अधिकार दिवस २०२३ मार्च १५को सन्दर्भ पारेर मंचले विहिबार राजधानीमा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तर्कृयामा सरोकारवालाहरूले जनस्वास्थ्यसँग खेलवाड गर्ने अधिकार कसैसँग नभएकाे भन्दै राज्यका जिम्मेवार निकायले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने बताएका छन् ।
मंचका अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यसँग खेलवाड गर्ने अधिकार कसैसँग नरहेको भन्दै बजारमा भैरहेको अराजकता रोक्ने जिम्मेवारी राज्यको भएकाे भन्दै राज्य नै प्रभावकारी तरिकाले अघि नबढेकाे भन्दै गुनासाे गरे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले देश संघियतामा गएपनि अधिकार संघिकृत नभएकाले राम्रो कामका लागि सरकारका सम्पूर्ण संयन्त्रले काम गर्नुपर्ने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यले सरकारले आफनोतर्फबाट आवश्यक कामकार्वाही गर्दै आएको भएपनि उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्थाहरुको खबरदारी स्वागतयोग्य रहेको बताइन् ।
त्यसैगरि, गुणस्तर तथा नाप तौल विभागका उपमहानिर्देशक प्रभात कुमार सिंहले नियमनको सिलसिलामा उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्थाहरुसँग समेत सहकार्य हुँदै आएको जनाए ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक होमनाथ दवाडीले सरकारले आफनो क्षमता अनुसार काम गर्दै आईरहेको र तततत् नियमनकारी निकायले निश्चित कानुनको परिधिमा रहेर र आपसी समन्वयमा पनि काम हुँदै आएको बताए ।
मंचका सल्लाहकार डा. डिल्ली राम शर्माले नियमनकारी संस्थाको भूमिका प्रभावकारी हुन नसकेको उपभोक्ताको स्वास्थ्यमा सरकारबाटै गम्भिर लापर्वाही भएको बताए ।
उनले बिषादि चेकजाँच गर्ने ल्याकत नराख्ने ल्याबबाट परिक्षण भैरहेकाले त्यसको कुनै अर्थ नरहने बरु उल्टो लागत बढ्न गई उपभोक्ताहरु बढी मुल्य तिर्न बाध्य रहेको गुनासाे गरे ।
मंचका महासचिव गोविन्द सुवेदीले उपभोक्ता अधिकारको पक्षमा राज्यको भूमिका महत्वपूर्ण रहने बताए ।
मंचका उपाध्यक्ष पुष्पराम पौडेलले कार्यक्रम संचालकको भूमिका निर्वाहले कानुनको कार्यान्वयनमा सरकारले तदरुकता देखाउनुपर्ने खाँचो रहेकाे बताए ।
FACEBOOK COMMENTS