काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार सुरु हुँदैछ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन सोमबार सुरु हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुहुँदै सोमबार ६० जिल्लाका १४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुने बताए ।
संयोजक यादवले भने, ‘१३ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । गोरखा र म्याग्दीको सम्पन्न भयो, सोलुखुम्बुको अधिवेशन शनिबार सम्पन्न भयो । जुम्लाको अधिवेशन पनि आइतबार भएको छ । बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ ।’ वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्ने छन् ।
नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको शुक्रबार सम्पन्न अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम आउने क्रम जारी छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ६० वटामध्ये ४६ जिल्लामा नेतृत्व चयनको प्रक्रिया पूरा भएको बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS