काठमाडौँ । डिजिटल गोपनीयतामा काम गर्ने संस्था अल एबाउट कुकिजको सन् २०२५ को प्रतिवेदनअनुसार करिब ४६ प्रतिशत मानिसले मात्र इन्टरनेट कुकीज के हो र स्वीकार वा अस्वीकार नगरी वेबसाइट छोड्दा के प्रभाव पर्छ भन्ने बुझ्ने गरेका छन् । यसले डिजिटल सचेतना अझै सीमित रहेको देखाएको छ ।
प्राविधिक भाषामा कुकीज साना पाठ्य डाटा फाइल हुन् । प्रयोगकर्ताले कुनै वेबसाइट खोल्दा उक्त साइटले ब्राउजरमा एउटा फाइल सुरक्षित गर्छ । यसमा प्रयोगकर्ताको रोजाइ, खोज इतिहास र लगइन प्राथमिकता जस्ता जानकारी समावेश हुन्छन्, जसका कारण अर्को पटक वेबसाइट छिटो र व्यक्तिगत रुचिअनुसार खुल्छ ।
पहिलो पक्षका कुकीज: प्रयोगकर्ताले भ्रमण गरेको वेबसाइटले नै बनाउने कुकीज । तेस्रो पक्षका कुकीज: विज्ञापन वा विश्लेषण कम्पनीहरूले ट्र्याकिङका लागि प्रयोग गर्ने कुकीज ।
धेरैजसो प्रयोगकर्ताले हतारमा कुकी सम्बन्धी सन्देशलाई नस्वीकारी वा नसकिने गरी हटाएर ब्राउजिङ जारी राख्छन् ।
तर यसले केही जोखिम निम्त्याउन सक्छ । वेबसाइट अवरुद्ध हुन सक्छ, कतिपय आधुनिक वेबसाइटले कुकीसम्बन्धी निर्णय नलिँदासम्म सामग्री पूर्ण रूपमा देखाउँदैनन् । अनुभव कमजोर हुन सक्छ, प्रयोगकर्ताको रुचि नबुझ्दा बारम्बार असम्बन्धित विज्ञापन वा समाचार देखिन सक्छ ।

गोपनीयता जोखिम, प्रतिवेदनअनुसार असुरक्षित साइटहरूले प्रतिक्रिया नदिँदा पृष्ठभूमिमा तेस्रो पक्षका कुकीज प्रयोग गर्न सक्छन्, जसले गोपनीयता जोखिम बढाउछ ।

विशेषज्ञहरूले सबै कुकीज अन्धाधुन्ध स्वीकार नगर्न सुझाव दिएका छन् ।

विश्वसनीय वेबसाइटमा मात्र स्वीकार गर्नुहोस्: सुरक्षित संकेत (एचटीटीपीएस) भएका र परिचित साइटमा मात्र अनुमति दिनु उपयुक्त हुन्छ । सार्वजनिक इन्टरनेट प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । क्याफे वा विमानस्थलको सार्वजनिक सञ्जालमा कुकीज स्वीकार गर्दा जोखिम हुन सक्छ । संवेदनशील विवरण जोगाउनुपर्छ । शंकास्पद वेबसाइट देखिएमा सबै अस्वीकार गर्ने विकल्प प्रयोग गर्नु राम्रो हुन्छ ।

समय-समयमा ब्राउजर सेटिङमा गएर कुकी र क्यास मेटाउँदा पुरानो डाटा हटेर ब्राउजिङ सुरक्षित रहन्छ ।

अधिकांश आधुनिक ब्राउजरले तेस्रो पक्षका कुकीज अवरुद्ध गर्ने, स्वचालित रूपमा कुकी मेट्ने तथा वेबसाइटअनुसार अनुमति निर्धारण गर्ने विकल्प दिन्छन् । यसले प्रयोगकर्तालाई आफ्नो डिजिटल गोपनीयता नियन्त्रण गर्न सहयोग पुर्याउछ ।
FACEBOOK COMMENTS