काठमाडौं । सहकारिताबाट कृषि क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले नगरस्तरीय सहकारी सञ्चालन गरेको छ ।
विसं २०७६ मा नगरपालिकाले आफ्नै सहकारी ऐन निर्माण गरेको र त्यसको एक वर्षपछि अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था गठन भएको प्रमुख प्रशासकीय अधिकृत गीता इङ्नामले बताए । उनका अनुसार अर्जुनधारामा ८५ प्रतिशत बासिन्दा कृषिमा निर्भर छन् । परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिकरण गरी कृषिमा आश्रित जनताको जीवनस्तर उकास्न सघाउने लक्ष्यसाथ आफ्नै सहकारी स्थापनाको सोच ल्याइएको उहाँले बताए । नगरपालिकाले सहकारी स्थापनाका लागि २४ लाख ९० हजार रुपैयाँ शेयरपुँजी लगानी गरेको छ । स्थापनाकालमै पाँच सय १५ कृषक सो सहकारीमा जोडिए । हाल सदस्य आठ सय ६२ पुगेको सहकारीका अध्यक्ष प्रत्युष आजाद रानाले जानकारी दिए ।
राज्यले तीन खम्बे आर्थिक नीतिलाई संविधानमै समावेश गरेपछि सहकारीको विकास र प्रवद्र्धनमा स्थानीय तह लागिपरेका छन् । स्थानीय तह आफैले सहकारी स्थापना गरेको प्रदेश नं १ मै यो पहिलो उदाहरण रहेको अध्यक्ष राना बताउछन् । अर्जुनधारामा यसअघि ४६ सहकारी संस्था क्रियाशील थिए । नगरपालिकाले स्थापना गरेको नगर विकास सहकारीमा ती सबै सहकारीले शेयर लगानी गर्ने सहमति भएको छ । नगरपालिकाले सहकारी स्थापना गर्दा नगरभित्रका सबै सहकारीसँग बैठक गरेर सल्लाह लिएको थियो । नगरका ११ वटै वडामा वडा समिति गठन गरेको अर्जुनधारा सहकारीले पहिलो चरणमा नगरपालिकालाई बीउबिजनमा आत्मनिर्भर तुल्याउने अभियान चलाएको छ । “हरेक वर्ष हाम्रो नगरपालिकाबाट कृषि बालीको बीउबिजन खरिदमा १० करोड रुपैयाँ पुँजी बाहिर जाँदोरहेछ”, सहकारीका उपाध्यक्ष छत्र पौडेलले भने , “विसं २०८० सम्ममा नगरलाई बीउबिजनमा आत्मनिर्भर तुल्याउने लक्ष्यले अहिले बीजवृद्धिमा लागेका छौँ ।”
गत वर्ष धान बीउ खरिदमा रु दुई करोड खर्च भएको उहाँले जानकारी दिए । यसपालि सहकारीले सबै वडाका कृषकसँग सहकार्य गरेर धान, मकै, गहुँ, तोरी, जैघाँसलगायतका बीजवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । उनले छ जातको ९० हजार केजी उन्नत धान, १० हजार केजी गहुँ, २७० केजी तोरी, ७०० केजी मकै र २०० केजी जैघाँसको बीउ किसानलाई उपलब्ध गराएर त्यसको उत्पादन खरिद गर्ने लक्ष्य लिइएको बताए । बीजवृद्धि कार्यक्रममा सहभागी कृषकलाई सहकारीले बीउ, मल र प्राविधिक सहयोग उपलब्ध गराउँछ । कृषकले उत्पादन गरेको बाली आगामी वर्षको बीउबिजनलाई सहकारीले नै बजारभाउ भन्दा धेरै मूल्यमा खरिद गरिदिने उपाध्यक्ष पौडेलले जानकारी दिए ।
सहकारीले आगामी वर्ष कृषि क्षेत्रको विकास र प्रवद्र्धनमै संस्थाको योजना केन्द्रित गर्ने निर्णय गरेको छ । आगामी वर्ष पशुआहार, मह र बेसारको उत्पादन गरेर बजारिकरण गर्ने कार्यक्रम सहकारीले अघि सारेको छ । यो सहकारीमा ५१ प्रतिशत शेयर नगरपालिकाको कायम राखेर अरु शेयर स्थानीय सहकारी, वन उपभोक्ता समिति, सामुदायिक संघ संस्था र कृषकलाई नै वितरण गर्ने सोच बनाइएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत इङ्नामले बताए । “नगरपालिकाले आफै सहकारी स्थापना गर्दा के होला कसो होला भन्ने सुरुमा सबैलाई लागेको थियो, तर अहिले प्रगति हेर्दा उत्साहवद्र्धक छ”, उनले भने, “युवाहरू विदेश पलायन भइरहेको, सहकारी बचत र ऋण कारोवारमा मात्र सीमित हुन थालेको र उर्वर जग्गा कि त घडेरीमा प्लटिङ कि त बाँझै हुन थालेको परिस्थितिमा हामीले यो सहकारी अरुभन्दा भिन्न र कृषि क्षेत्रको उत्थानमा वरदान सावित होस् भन्ने अपेक्षा राखेका छौँ ।”
हाल नौ सदस्यीय सञ्चालक समिति रहेकोमा स्थानीय सरकारको प्रतिनिधिको रुपमा नगरपालिकाले एक र सङ्घसंस्थाको तर्फबाट थप एक प्रतिनिधि सञ्चालक समितिमा रहने व्यवस्था छ । पदाधिकारी तथा अरु सदस्य समुदायबाटै चयन हुने व्यवस्था छ । हाल संस्थामा सात कर्मचारी र प्राविधिक कार्यरत छन् । नगरपालिकाको पशु विकास शाखाले आवश्यक प्राविधिक परिचालनमा मद्दत पुर्याउँदै आएको सहकारीका व्यवस्थापक लोचन राईले बताए । कृषक सदस्यलाई आवश्यक पर्ने मल र बीउसमेत उपलब्ध गराइरहेको, बचत तथा कर्जा कारोबार दिनप्रतिदिन बढिरहेको र कृषकबाट उत्पादित बाली बीउबिजनका लागि भण्डारण गर्नुपर्ने खाँचो भएकाले एउटा कोल्डस्टोरको तत्काल आवश्यकता भइरहेको उनले बताए ।
FACEBOOK COMMENTS