काठमाडौँ । सहकारी संस्थाको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न आज बैठक बस्ने भएको छ । आज सहकारी विभागमा बस्ने बैठकले नयाँ ब्याजदर निर्धारण गर्ने बताइएको छ ।
सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा रहेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक आजको लागि बोलाइए छ । उक्त समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालय र अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा विषयगत सहकारी संघका प्रतिनिधि सदस्य रहेका छन् ।
बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै ब्याजदर बढेपछि सहकारीले पनि सन्दर्भ ब्याजदर बढाउन सहकारीकर्मीले दबाब दिँदै आएका छन् । जसले गर्दा आज बैठक बस्न लागेको हो । अहिले सहकारी संस्थाहरूले ऋण लगानी गर्दा अधिकतम १४.७५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरिएको छ । विभागले २०७७ कात्तिक १५ गतेदेखि अहिलेको ब्याजदर लागू भएको थियो ।
सहकारी ऐन तथा नियामावलीमा सहकारीको ऋण लगानीको व्याजमा सीमा रहने गरी सन्दर्भ ब्याजदर तोक्ने प्रावधान छ । समितिले बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सघंमा आबद्ध संस्था वा संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, ‘क’ वर्गको बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा मन्त्रालय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूको सुझावलाई आधार मानेर सन्दर्भ ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ ।
यसैगरी नियमावलीमा सन्दर्भ ब्याजदर तोक्नका लागि सिद्धान्तहरू पनि तय गरिएको छ । जसअनुसार बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी, ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी, बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटीलाई आधार मान्ने व्यवस्था गरिएको छ । स्रोतका अनुसार अधिकतम सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेकोमा यसलाई बढाएर १६.७५ प्रतिशतसम्म पुर्याउन निकै लबिङ भइरहको छ । स्राेतका अनुसार हाल भएकाे व्यवस्थामा २ प्रतिशतसम्म बढाउन समिति पनि सहमत जस्ताे देखिएकाे छ । कति पुग्ने हो भन्ने आजको बैठक पनि थाहा हुनेछ ।
FACEBOOK COMMENTS