काठमाडौं । बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिचाई मन्त्री बसन्त मानन्धरले सहकारीहरुले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको बताएका छन् ।
शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा यस्तो बताएका हुन् । कार्यक्रममा शुक्रपथ बहुउद्देश्यीय सहकारीका अध्यक्ष नरेन्द्र विष्टले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताए । उनले शुक्रपथ सहकारीले कोरोना संक्रमणको महामारीमा पनि आफ्ना बचतकर्ताका लागि समर्पित भएर काम गरेको जानकारी गराए ।
सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन र ०७८÷७९ को कार्ययोजना प्रस्तुत गरे ।
सहकारीले हालसम्म १ अर्व ४१ करोड बचत संकलन गरी १ अर्व ५९ करोड ऋण लगानी गरेको छ । सहकारीमा १२ हजार सदस्य रहेका छन् । सहकारीले बाग्मती प्रदेशलाई आफ्नो कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । उपत्यका बाहेक नुवाकोट र चितवनमा समेत गरी १० स्थानमा सेवाकेन्द्रहरु संचालनमा रहेका छन् ।
FACEBOOK COMMENTS