काठमाडौं । सरकारले फास्ट ट्रयाकबाट कानुन बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ ।
आज बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सहकारीको समस्याका बारेमा गम्भीरतापूर्वक छलफल गरी समस्या समाधानका लागि फास्ट ट्रयाकबाट कानुन बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग सरकारले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको समस्याका बारेमा मन्त्रिपरिषदको बैठकमा गम्भीरतापूर्वक छलफल भएको बताउँदै तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताहरुले व्यहोर्नु परेको समस्या समाधानको प्रक्रिया सुरू गरिने निर्णय भएको बताएकी हुन् ।
नियमित प्रक्रियाबाट समस्याको समाधान हुँदैन भन्ने कुरामा मन्त्रीहरू एकमत रहेकाले कानुन परिमार्जन गरेर समस्या समाधानको उपाय खोज्ने निष्कर्षमा सरकार पुगेको उनको भनाइ थियो । उनले विद्यमान कानूनबाट सहकारी पीडितका समस्या समाधान हुन सक्ने स्थिति नरहेको भन्दै आवश्यक परे संरचना बनाएर समस्या समाधान गर्ने बताइन् ।
उनले सहकारी पीडितको समस्या छिटो भन्दा छिटो हल गर्नुपर्छ र त्यसका लागि आवश्यक कानूनी प्रक्रियाका कुरा र संरचनाका कुरा पनि फास्ट ट्रयाकबाट गरेर अघि बढाउने कुरामा छलफल भएको बताइन् ।
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
FACEBOOK COMMENTS