भाद्र २५ काठमाडौँ । विगतका बर्षमा मनाउने तिजहरुमा भन्दा यसपालीको तिजको रौनक र सन्देश प्रवाह अलि फरक भएको छ ।
लामो सयसम्म कोभिडले गर्दा घरबाट बाहिर निस्किन नपाएकाहरुका लागी र आफन्तबाट टाढा बस्नेहरुका लागी लकडाउन खुकुलो हुँदा हर्षको कुरा नै थियो । तैपनि कोभिडले कोही कसैलाई अछुतो नबनाई तीब्र गतिमा बढिरहेकोले कोभिडले छुने हो कि भन्ने डर भने सबैलाई थियो । यसपालि तिज कसरी मनाउँदा रमाईलो हुन्छ ? भन्ने प्रश्नले हिन्दु नारीहरुको मनमा डेरा जमाएको थियो ।
अघिल्लो बर्षमा तिज मनाउन माईत जान नपाएको, कुनै पनि मन्दिर जान नपाएको, टोलका दिदि बहिनीहरुसँग एकै ठाउँमा जम्मा भएर नामचगान गर्न नपाएको र आफ्नो परिवार एकल परिवार भएकाले घर भित्र मात्र बसेर मनाउँदा तिज पर्वको रौैनकले त्यती नछोएको गुनासो गर्छिन् सजना सापकोटा ।
त्यसो त, अघिल्लो बर्ष घरमा सुरक्षित नबसेको भए यसपालिको पर्वलाई गुमाईने रहेछ भन्दै लामो सुस्केरा हाल्छिन् । उनलाई कोरोनाले नछोडेको र दशैँमा त झन्डै ज्यान गएको भन्दै अझै पनि ढुक्क हुन नसकेको र यसपाली अलि फरक तरिकाले घरमै बसेर तिज मनाएको बताईन् ।
यसपाली लकडाउन खुलेसँगै केहि तिज पर्व विशेष कार्यक्रम भएका थिए । कलाकार, साहित्यकार, व्युटि क्लिनिक र बुटिक व्यवसायीहरुले पनि तिज कार्यक्रम मनाएका थिए ।
बरिष्ठ ब्युटिसियन सुष्मा महराले अघिल्लो बर्षमा भन्दा यसपालिको तिज मनाईरहँदा नेपालीहरु जस्तो सुकै परिस्थितिमा पनि आफ्नो धर्म र संस्कृति जोगाउन पछि नपर्ने बताईन् ।
तड्कभड्क गर्नु हुदैन, महङ्गा सुनका गहना र महङ्गा साडी लगाउनु हुदैन, साधारण तरिकाले तिज मनाउनु पर्छ र सामाजीक दुरी कायम राख्नुपर्छ भन्ने सन्देश प्रवाह भईरहँदा आफ्नो बुटिकमा पनि सस्तो र राम्रो तिजका सामान राखेको र ग्राहकहरु खुशी भएकोले आफूलाई सन्तुष्टी मिलेको बालिका क्रियसनकी संञ्चालक गोमा अधिकारी बताउँछिन् ।
कामको सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कर्मले डोराउदै विगत ११ बर्ष देखि ईजरायल पुगेकी बिना रोक्काले आफ्नो मातृभूमि र आफ्नी प्यारी आमालाई हरपल सम्झिरहेको र माया लागिरहेको बताउँछिन् । उनका अनुसार तिज पर्व भन्ने बितिकै माइतीको याद आउने, आमाको याद आउने, कहिलेकांिह तिजमा नजाँदा वा ढिलो पुग्दा माइतीमा आमाले आँगनीको डिलमा बसेर बाटो हेरी रहेको र पुगेपछि आमा खुशी हँुदै आफूलाई मनपर्ने तिजको खाजा पकाएर खुवाएको याद आउँदो रहेछ भनेर मनलाई गाठोँ पार्र्दै सुनाउँछिन् ।
भुषको आगो झैँ सल्किएको कोरोना महामारीले धेरैलाई टुहुरो बनाएको छ । यही टुहुरोपनमा सर्मिला उपाध्याय पनि परेकि छिन् । उनको आमा वितिसक्नु भयो तर उहाँले माइतीमा म मृत्युपछि बहिनीलाई तिजमा सधै बोलाउनु भनेर भाउजुलाई भन्नु भएको रहेछ । माइतीमा दाईभाउजुले औधि माया गर्छन् । आमा हुँदा त मलाई कुरेर बस्ने र मेरो बाटो हेरेरै बस्ने मेरा दाई भाउजु । यसबर्ष म गईन भने भाउजुको मुहार उज्यालिदैन होला भन्ने सोचेर माईत गएँ । नजाउँ पनि त कसरी एक बर्षमा एक पटक मात्र आउँछ । अर्कौ साल के हो के जीन्दगीको भर भए पो भन्दै आफ्नै व्यथा सुनाउँछिन्
उत्तिकै चुनौति छ :
विगतका बर्षलाई हेर्ने हो भने तिज नजिकिदै गर्दा एक महिना अगाडि देखि नै तिज मनाउने दिदीबहिनीहरु छमछमी नाचेर गित गाएको र तिजको दर खाएको देखिन्थ्यो । माइती जानुपर्ने चेलिहरुले पनि जानु पूर्व घरैमा बसेर घरका छोरीचेलीहरुलाई बोलाएर तिजको दर खुवाएर आफु माईती जानु पर्ने चटारो हुँदा हस्यांफस्याङ गर्नु पर्ने हुन्थ्यो । थकान त अति लाग्थ्यो नै तैपनि त्यो खुशीको थकान हुन्थ्यो । त्यसको छुट्टै रमाइलो हुन्थ्यो ।
(बाबा बस्नेत :साहित्यकार )
तर अहिले त्यही रमाइलो सम्झेर माइती नगए पनि मिठो मसिनो तिजको दर घरमै खाँदै, छमछमी नाँँच्दै, मनको उकुस मुकुसलाई शान्त पार्नको निम्ति ल्यापटप खोलेर केहि रचना कोर्ने गरेकी छु । सायद मलाई जस्तै अरु दिदीवहिनीहरुलाई पनि उकुसमुकुस भएर नै होला साडी लगाएर घरैमा नाचेको भिडियो बनाउँदै फेसवुकमा र टिकटकमा राखेको देख्दा चित्त बुझाउँने साहित्यकार बाबा बस्नेत बताउँछिन् ।
यसरी विश्वव्यापी महामारी कोरोना भाइरसका कारण खल्बलिएको सामाजिक लयलाई नारीहरुले परिस्थिति अनुसार अनुकुल बनाउँदै तिज मनाएका छन् ।
-एलिसा ढुंगाना
FACEBOOK COMMENTS