काठमाडाैं । बीमा समितिले कोरोना बीमाको बाँकी दाबी भुक्तानी ११ अर्ब ४३ करोडमध्ये एक अर्ब ८१ करोड रूपैयाँको भुक्तानी गर्ने तयारी गरिरहेको छ।
बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार सरकारले हालै पठाएको एक अर्बमा अन्य निकायहरूले ८१ करोड रूपैयाँ थपेर वितरण गर्ने भएका हुन्।
‘कोरोना बीमा दाबी भुक्तानीको दोस्रो ढाँचा अनुसार सरकारले ५५ प्रतिशत व्यहोर्ने र बाँकी समिति, बीमा कम्पनी, पुनर्बीमा कम्पनी मिलेर भुक्तानी गर्ने भएका हौं’ पौडेलले भने, ‘यस अनुसार सरकारले पठाएको एक अर्बलाई ५५ प्रतिशत मान्दा बाँकी अरु निकायले हाल्ने भएका हौं।’
यसमा पुनर्बीमा कम्पनीले १२ प्रतिशत, बीमा कम्पनीहरूले २५ प्रतिशत र आठ प्रतिशत बीमा समितिले रकम हाल्ने भएका हुन्।
यो रकम तिहार अगाडी नै बाड्ने योजना भएपनि मन्त्रालयको निर्देशन पर्खेर बीमा समिति बसेको छ।
‘कोरोना बीमामा परेको एक लाखभन्दा बढीको दाबी भुक्तानी हुन बाँकी छ’ पौडेलले भने, ‘अहिलेको रकमले १८ सयभन्दा धेरैलाई पुग्ने देखिएको छैन, त्यसैले पनि के कसरी बाड्दा ठिक हुन्छ भनेर अर्थमन्त्रालयको निर्देशन कुरेका छौं।’
समितिले भुक्तानी माग्न आउने ग्राहकको पिसिआर टेस्टको मिति अनुसार पुरानोलाई प्राथमिकता दिएर रकम दिने योजना बनाएको भएपनि यसमा अर्थमन्त्रालयको स्वीकृति पर्खिरहेको हो।
नेपालमा कोरोना संक्रमण फैलिएसँगै १७ लाखभन्दा बढीले कोरोना बीमा गरेका थिए।
यसमध्ये विभिन्न २० इन्स्योरेन्स कम्पनीमा एक लाख ६२ हजार तीन सय ४६ जनाले १५ अर्ब ३५ करोड ६८ लाख २६ हजार ६ सय २३ रुपैयाँको बीमा रकम दाबी परेको थियो।
अब एक लाख १३ हजारभन्दा बढी दाबी भुक्तानी बाँकी छ।
FACEBOOK COMMENTS