मानिसको जीवन परिवर्तनमा प्रेरणाले ठूलो महत्व राख्दछ । भर्खर तोते बोली बोल्दै गरेका बालबच्चालाई समेत हामी उदाहरणीय व्यक्तिहरूले गरेका राम्रा–राम्रा काम, सफल व्यक्तिको संघर्ष र अनेकताका कुराहरू गरेर प्रेरणा भर्ने गर्दछौं ।
ती बालबच्चाका अभिभावकले राम्रा–राम्रा व्यक्ति, राम्रा–राम्रा काम र सफलताका कुराहरू त्यत्तिकै गरेका हुँदैनन् । भविष्यमा आफ्ना सन्तानले पनि तिनै उदाहरणहरूबाट प्रेरित भइ कम्तीमा नराम्रो नगरुन् भन्ने आधारभूत इच्छा र उद्देश्य राखेका हुन्छन् ।
यसो भन्ने वित्तिकै हाम्रो मनमा एउटा प्रश्न उब्जिन सक्छ, के राम्रो काम गर्नेहरू सबै इमानदार, इज्जतदार वा प्रेरणादायी नै हुन्छन् त ? पक्कै पनि सबै त्यस्ता व्यक्तिहरू राम्रा मात्रै हुँदैनन्, कतिपयले बाहिर राम्रो र भित्र नराम्रो पनि गरिरहेका हुन्छन् । त्यसको पहिचान गरेर मात्रै आफ्नो बालबालिकालाई उदाहरण प्रस्तुत गर्नु एउटा अभिभावकमा कम्ता ठूलो चुनौती छैन । त्यस्ता कुराहरूलाई चिर्ने ल्याकत सामान्य अभिभावकहरूमा हुँदैन, हुन्छ त केवल आम सञ्चार माध्यममा ।
आम सञ्चार माध्यमको विशेषता भनेकै समाजमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई निरुत्साहित गर्नु हो । त्यसैबाट एउटा अभिभावकले मात्र होइन संसारका अधिकांश मानिसहरूले आफूलाई चाहिने सूचना ग्रहण गरिरहेका हुन्छन् । आम सञ्चारका माध्यमले राम्रो कामलाई प्रोत्साहन र खराब कामविरुद्ध तथ्यहरूसहित खबरदारी गरिरहेका हुन्छन् । तिनै सूचना र सन्देशहरूलाई मानिसले ग्रहण गरेर समाजका विभिन्न गतिविधिहरूबारे जानकारी लिइरहेका हुन्छन् ।
विगत ११ वर्षदेखि सूचना प्रवाह र समाचारको श्रृङ्खलाहरू प्रस्तुत गर्दै आएको कर्पोरेट खबर तथा कर्पोरेट म्याकजिनले समाजमा भइरहेका राम्रा कामबारे आम पाठकलाई जानकारी दिँदै समाजका खराब गतिविधिबारे तथ्यसहित उजागर गर्दै आएको पनि छ । आमसञ्चार माध्यम पाठकलाई समाचारको भोक मेटाउने माध्यम मात्र होइन, समाजमा रहेका राम्रा काम र असल चरित्रका व्यक्तिहरूबारे तथ्यहरू आम पाठकसम्म पु¥याउनु पनि हो ।
यसै शिलशिलामा हामीले कर्पोरेट खबरको यो अंकमा केही व्यक्तिहरूको बारेमा अनौपचारिक तर प्रेरणादायी रिपोर्ट बनाएर प्रस्तुत गर्ने जमर्को गरेका छौं । जसले नेपाली माटोका निम्ति आफ्नो जीवनको सम्पूर्ण उर्जाशील उमेर खर्चिएका छन् । जसका कारण मुलुकको अर्थतन्त्रमा योगदान, रोजगारी सृजना, उत्पादित वस्तुको देशभित्रै खपत, विभिन्न खालका पूर्वाधारको विकास तथा अन्य धेरै कुरामा महत्वपूर्ण भूमिका निर्वाह भइरहेको छ ।
हामीले प्रस्तुत गरेका सामग्रीहरू पढेर समाजमा हुर्किरहेका कुनै पनि उमेर समूह, वर्ग र तप्काका मानिसहरूमा नयाँ ऊर्जा भर्नु हाम्रो एकमात्र अभिष्ट हो ।
पछिल्लो समयमा लगानीयोग्य पूँजीको निर्माण भइरहेको भए पनि लगानीयोग्य वातावरण नभएको बन्दै अझै लगानी गर्न हिचकिचाउने समस्या हामीकहाँ विद्यमान छ । त्यसो भए अहिले शान, मान, इज्जत र सम्मानका साथ अगाडि आएका व्यक्तिहरू कुनै दुःख र कष्टविना अनुकुल समयका कारणले मात्रै माथि–माथि उक्लिएका हुन् त ? के उनीहरूको समयमा प्रतिकुलता भन्ने कुरा छँदै थिएन त ? यी प्रश्नहरूको जवाफ पनि आजका लागि निक्कै महत्वपूर्ण सवाल हो । कति धेरै प्रतिकुल समयमा पनि मानिसहरूले लगानी गरेर आ–आफ्नो ब्राण्ड निर्माण गरेका, अनेकन झन्झट र दुःखहरू झेलेका विषयहरूलाई हामीले अध्ययन गर्नु आवश्यक छ ।
काम गरेर सानो भइन्छ भन्ने मानसिकताले जरो गाडेको हाम्रो समाजका युवा पङ्क्ति अहिले पनि त्यो काम राम्रो, यो काम नराम्रो, त्यो काममा पैसा धेरै, यो काममा पैसा थोरै भनेर कामै पो गर्न छाडेका छन् । अनेक दुःख र खर्च गरेर स्नातक र स्नातकोत्तर हासिल गरेकाहरू आफ्नो माटोमा पसिना बगाउन छोडेर बरु विदेशको ४५–५० डिग्री तापक्रममा रगतै बगाउन तयार भइरहेका छन् । भएका युवाशक्ति सबै खाडी, यूरोप र अष्ट्रेलिया पलायन हुनाले मुलुकमा सामान्य मजदुरको समेत समस्या परिरहेको विद्यमान अवस्था छ ।
केवल रेमिट्यान्समा रमाइरहेको सरकार, ‘बरु विदेशै…’ उड्ने युवाशक्ति, भविष्यका कर्णधार बालबालिका र अरु थुप्रै तह र तप्काका मानिसहरूलाई समेत केही उदाहरण, केही प्रेरणा, केही ऊर्जा र केही हिम्मत मिलोस् भन्ने उद्देश्यले हामीले यो अंकमा केही अनुकरणीय व्यक्तिहरूलाई प्रस्तुत गरेका छौं । ती व्यक्ति अहिले के छन्, कस्तो छन् र के गरिरहेका छन् भन्दा पनि पहिला के थिए, कसरी यस्तो भए र अहिलेको अवस्थामा कसरी पुगे भन्ने विषयमा केन्द्रित भएर हामीले विशेष सामग्री पस्किएका हौं ।
हामीले उल्लेखित सामग्रीमा समेटेका १६ जना व्यक्तिलाई थप हौसलाका निम्ति ‘कर्पोरेट अवार्ड’ समेत प्रदान गरेका छौं । उनीहरूको योगदानको कदर भएकोसम्बन्धी समाचार सामग्री पढ्ने र हेर्ने पाठक वर्गमध्ये धेरैमा नयाँ जोश, जाँगर र केही गर्ने इच्छाशक्ति जाग्नाका साथै अवार्ड प्राप्त गर्ने ‘कर्पोरेट पर्सन’हरूमा थप हौसला जाग्ने कुरामा हामी धेरै विश्वस्त छौं ।
FACEBOOK COMMENTS