काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले हरेक वर्ष आयोजना गर्दै आएको ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ भोलि प्रदान गरिने भएको छ ।
भोलि आइतबार काठमाडौंको सोल्टीमोडस्थित हायात प्लेसमा विशेष समारोह आयोजना गरी विभिन्न क्षेत्रका मुर्धन्य व्यक्ति व्यक्तित्वहरूलाई सम्मान गरिने आयोजक कर्पोरेड मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।
उनका अनुसार ‘कर्पोरेट बिजनेस अवार्ड, २०८०’ को यो १६औँ श्रृङ्खला हो । यो वर्ष कर्पोरेट बिजनेस अवार्डबाट एक जना लाइफटाइम अचिभमेन्ट र विभिन्न विधाका २९ जनालाई सम्मान गरिन लागिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) की पूर्वध्यक्ष भवानी राणा संयोजक रहेको ‘जुरी मेम्बर’ले सम्मानित हुने व्यक्तिहरूको नाम छनोट गरेको हो । छनोट समितिमा ईश्वरलाल फाउण्डेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंकी सचिव सुष्मा महरा, आईआईएफटीका अध्यक्ष तेन्जिङ शेर्पा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, कर्पोरेट मिडिया ग्रुपमा अध्यक्ष उज्वल जंग शाह तथा अधिवक्ताद्वय करुणाकर मल्लिक र आकृति रायमाझी सदस्य छन् ।
कार्यक्रममा सबै वाणिज्य तथा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू, जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष तथा कार्यसमिति सदस्यहरू र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी करिब २०० जनाको सहभागिता रहने छ ।

अवार्ड कार्यक्रमले समग्र निजी क्षेत्रलाई उत्साहित गर्दै वर्तमान परिप्रेक्ष्यमा नयाँ रक्तसञ्चार गर्ने विश्वास आयोजकको छ ।
